Jump to content

Page:Bhanubhaktako ramayan.pdf/247

From Nepali Proofreaders
This page has not been proofread

कस्का सधैं दास् भइ पाउ पर्नू ?
बूढा गुरूमा लगि चित्त धर्नू ।
प्राणान्तका समयमा कति कर्म गर्नू ?
सम्पूर्ण छोडि रघुनाथ्-तिर चित्त धर्नू ॥३५॥

कुन् चोर हो इ जनको भनि चोर जान्नू ?
जुन् वासना त छ असत् उहि चोर मान्नू ।
शोभायमान भयि बस्छ सभाविषे को ?
सब् को प्रसन्न मन गर्दछ शास्त्रले जो ॥३६॥

मातासरी सुख दिन्या कुन चीज् छ जान्नू ?
विद्यै छ त्यस्तो अरु कौन खोज्नू ।
कुन् हो जती-जति दियो उति बढ्न जान्या ?
विद्यै रहेछ बुझि निश्चय तेहि मान्या ॥३७॥

कुन् काम हो अति डरायर दूर सार्नू ?
लोकापवाद् छ घटिया कहिल्यै न धर्नू ।
कुन् कर्म गर्दछ भन्या उहि बन्धु मान्नू ?
आफ्नो सहाय यदि गर्दछ बन्धु जान्नू ॥३८॥

कस्ता मनुष्यकन पित्रि भनेर जान्नू ?
जसले त पालन गर्यो उहि पित्रि मान्नू ।
कुन् चीज जानिकन चीज् रहँदैन जान्नू ?
यो चीज् त नित्य परमेश्वरलाइ मान्नू ॥३९॥

कुन् चीह्निया सकल चीजहरू चिह्निइन्छन् ?
ईश्वर चिह्न्या सकल वाँहि चिह्नी सकिन्छन् ।
कुन् चीज् रहेछ अति दुर्लभ खोजि हान्नू ?
सत्सङ्ग हो अधिक दुर्लभ तेहि मान्नू ॥४०॥

कुन् त्याग् कहिन्छ ? शिवको सब तत्त्व जान्नू,
कुन् जीत्न सक्नु छ कठिन् ? उ त काम मान्नू ।
कुन् हो पशूसरि भनी नरले कह्याको ?
आत्मा नजानिकन मूर्ख पडी-रह्याको ॥४१॥