Jump to content

Page:Bhanubhaktako ramayan.pdf/245

From Nepali Proofreaders
This page has not been proofread

कुन् दु:खि हो यस् विषलाई लीन्या ?
संसारमा खुप्सित चित्त दीन्या ।
कुन् धन्य हो ? जुन् छ परोपकारी,
कुन् पूज्य हो ? तत्त्व लिन्या विचारी ॥२१॥

कौनै बखत्मा पनि क्या नगर्नू ?
पाप्मा अगाडी कहिल्यै नसर्नू ।
विद्वान् पुरुष्ले कति काम गर्नू ?
स्वधर्म थामीकन शास्त्र पढ्नू ॥२२॥

साङ्ला कउन् हुन् सबलाइ बाँध्न्या ?
स्त्री हुन् सदा पाउ समाइ-राख्न्या ।
सब् ब्रतहरूमा व्रत मुख्य कुन् हो ?
सब् देखि सानो म छु भन्नु जुन् हो ॥२३॥

क्या जानिईदैन भनेर बक्नू ?
स्त्रीको चरित्रै छ नजानिसक्नू ।
क्या हो सबैले त नछोडि सक्न्या ?
यै हो दुराशा अरू कीन बक्न्या ॥२४॥

कुन् हो पशूतुल्य भनी कह्याको ?
विद्या नभै मूर्ख पडी रह्याको ।
सज्ज्नहरू कस्सित सङ् नगर्नू ?
खल्-पापि-निच्का नगिचै नपर्नू ॥२५॥

कस्ता पुरुष् मुक्त भएर तर्छन् ?
सत्सङ्ग-भक्तीहरु जो त गर्छन् ।
छोटो कउन् हो नजलाइ माग्न्या,
कुन् हो बडो ? जो धनमा नलाग्न्या ॥२६॥

जन्म्यो कउन् ? जन्मनु फेर् नपर्न्या
मर्न्या कउन् हो ? मरि फेर् नमर्न्या ।
कस्लाइ लाटो छ भनेर भन्छन् ?
जो ता बखत्मा पनि चुप् रहन्छन् ॥२७॥