राम् हुन् परात्मा ति कहाँ विकारी ।
यस् लोकमा छन् नररूपधारी ॥
काम् गर्न लाग्या ति नरै सरीका ।
लीला अपार् छन् भगवान् हरीका ॥६६॥
राम् नारायण हुन् भनेर मनले जान्या र भेट्छू भनी ।
विश्वामित्र ऋषी बहुत् खुसि हुँदै आया अयोध्या पनी ॥
देख्या श्री दशरथ्जिले र बहुतै आदर् ऋषीको गरी ।
सोध्या काम् किन आज आउनु भयो भन्दै बहुत् प्रेम् धरी ॥६७॥
आदर्पूर्वकका सुन्या प्रिय वचन् यस्ता ऋषीले जसै ।
आफ्नू दर्द जउन् थियो मन महाँ सोही बताया तसै ॥
हे राजन् ! सब पर्व पर्वहरुमा ईश्वर् विषे मन् धरी ।
गर्छू होम्हरु कर्म तेस् बखतमा आयेर होम् नाश् गरी ॥६८॥
मारिच्ले र सुबाहुले बहुत दिक् गर्छन् र पाप् हुन् भनी ।
दूवैलाइ मराउना कन उठ्यो रिस् आज मेरो पनी ॥
सोही बिन्ति गरूँ भनेर अहिले आयाँ हजुर्मा यहाँ ।
जेठा पुत्र मलाइ बक्सनु हवस् लैजान्छु ऐल्हे तहाँ ॥६९॥
लक्ष्मण् साथ् गरि रामलाइ अधिराज् ! ऐल्हे हजुर्ले दिया ।
मारिच्लाइ सुबाहुलाइ सहजै मार्न्या इनैले थिया ॥
यस्मा अर्ति वशिष्ठको लिनु हवस् दीना नदीना महाँ ।
भन्छन् दीनु त बक्सनू पनि हवस् यै काम आयाँ यहाँ ॥७०॥
विश्वामित्रजिको सुन्या वचन यो राजा सकस्मा पर्या ।
दीऊँ की त न दीऊँ येहि मनमा चिन्ता बहूतै गर्या ॥
सोध्या ताहिं वशिष्ठ थ्यैं पनि गुरो ! यस्तो पर्यो क्या गरू ।
कल्याण् हुन्छ कसो गरेर अहिले अर्ती मिलोस् एक् बरू ॥७१॥
Page:Bhanubhaktako ramayan.pdf/23
Appearance
This page has been proofread
