Jump to content

Page:Bhanubhaktako ramayan.pdf/190

From Nepali Proofreaders
This page has not been proofread

तत्त्व ज्ञान् पनि बक्सनू तहिं भयो आनन्दसागर् परी ।
बीदा भै गुहजी गया घर महाँ मन् राम्चरण्मा धरी ॥
यस्तै रित् सित सब् बिदा तहिं हुँदै सुग्रिव् विभीषण् गया ।
लक्ष्मण् सेवक छन् सदा हजुरमा राम् राज्य गर्दा भया ॥३७२॥

आत्मारुप् सब कर्मका अधिपती निर्मल् अकर्ता पनी ।
कर्ता भै कन लोकलाइ उपदेश् गन्र्या उचित् हो भनी ॥
गर्ना लायक अश्वमेधहरु जो ठूला ठुला यज्ञ हुन् ।
ती सब् यज्ञ पनी गर्या प्रभुजिले बाँकी रहन्थ्यो कउन् ॥३७३॥

राजा राम् भइ बक्सनू जब भयो प्राणी प्रजा खुस् भया ।
जो पर्थ्या अघि ताप् अनेक् तरहका ती सब् प्रजाका गया ॥
गर्दैनन् विधवा विलाप् मुलुकमा लाग्दैन रोग् व्याध् पनी ।
सब् डाकू दबिया परेन कहिं ताप् यो चिज् हरायो भनी ॥३७४॥

बूढो बाँचि मरेन बालक कहीं यस्तो मुलुक्मा भयो ।
छोरो झैं गरि पालि बक्सनु हुँदा सब् ताप् प्रजाको गयो ॥
गर्छन् राघवको भजन् जनहरू बर्षन्छ मेघ् कालमा ।
वर्णाश्रम् सब धर्म छन् दिन बित्या सब्का सुखै चालमा ॥३७५॥

अयुत वर्ष त राज् प्रभुको भयो ।
सकल ताप् दुनियाँहरुको गयो ॥
शिवजिले यति पार्वति थ्यैं कह्या ।
सकल पाप् छुटि जान्छ सुनी रह्या ॥३७६॥

श्रीरामका यति कथा कन जो कहन्छन् ।
सब् थोकले ति परिपूर्ण भई रहन्छन् ॥
धन् पुत्र राज्यहरु कम्ति हुँदैन केही ।
पाप् हर्नलाइ पनि मुख्य छ धर्म येही ॥३७७॥