जन्मन्छन् तर मर्दछन् पनि सबै जस्का त छोराहरू ।
तेस्ता स्त्रीहरुले भने यति सुन्या बाँच्छन् पछीका अरू ॥
वन्ध्या स्त्री पनि पाउँछे सुत असल् गर्छन् कृपा राम् धनी ।
आधिव्याधि अनेक दुःख भय ताप् पर्दैन कैल्हे पनी ॥३७८॥
श्रीरामको यति कथा जतिले त सुन्छन् ।
सब् देवता ति सँग खुप् सित खूसि हुन्छन् ।
जो विघ्न हुन् ति पनि नष्ट भयेर जान्छन् ।
सम्पूर्ण जन् पनि तिनै कन आइ मान्छन् ॥३७९॥
आधिव्याध् दुख छुट्तछन् अरु उपर् धन् धान्य सन्तान् पनी ।
बढ्छन् इष्ट कुटुम्ब मित्रहरुका मान्न्या ति हुन्छन् भनी ॥
यस्ताको त बखान् कहाँ तक गरौं यो मन् प्रभूमा धरी ।
गर्छन् रामभजन् त मुक्ति पनि भै जान्छन् ति संसार् तरी ॥३८०॥
शम्भूले सब वेदमन्थन गर्या श्रीरामका नाम् सरी ।
अर्को तत्त्व मिलेन केहि र लिया साह्रै पियारो गरी ॥
सोही तत्त्व त पार्वती कन दिया अध्यात्म रुप्ले गरी ।
जस्ले प्रेम् गरि सुन्छ यो सहज त्यो उत्रन्छ संसार् तरी ॥३८१॥
इति श्रीयुद्धकाण्ड ।
Page:Bhanubhaktako ramayan.pdf/191
Appearance
This page has not been proofread
