Jump to content

Page:Bhanubhaktako ramayan.pdf/189

From Nepali Proofreaders
This page has not been proofread

सीताले हनुमानलाइ दिन सुर् बाँधेर हात्मा लिइन् ।
कस्तो हुन्छ हुकुम् भनी कन नजर् ख्वामित् तरफ् खुप् दिइन् ॥
जस्लाई दिन मन् छ देउ भनि यो हूकुम् भयेथ्यो जसै ।
प्यारा श्रीहनुमान् थिया तहिं दिइन् त्यो हार् सिताले तसै ॥३६६॥

झन् दर्जा हनुमानको तहिं चढ्यो फेरी प्रभूले पनी ।
क्या माग्छौ वरदान माग तिमिले दिन्छू म त्यो वर् भनी ॥
हूकुम् बक्सनु भो तहाँ र हनुमान् खुस् भै अगाडी सर्या ।
जो माग्नू मनमा थियो हजुरमा हात् जोरि बिन्ती गर्या ॥३६७॥

ख्वामित् नाम हजूरको जब तलक् लीनन् जगत्मा बडा ।
ताहीं सम्म शरीर् रहोस् हजुरका नाम् सुन्नलाई खडा ॥
ख्वामित् नाम हजूरका स्मरणमा आनन्द जो पाउँछू ।
त्यो आनन्द कतै मिलेन महराज् तेही न छूटोस् कछू ॥३६८॥

यो बिन्ती सुनि लौ भनी हुकुम भै फेरी कृपा भो पनी ।
बित्ला कल्प र यो बित्या पछि भन्या मुक्तै हुन्याछौ भनी ॥
हूकुम् यो रघुनाथको हुन गयो फेर् जानकीले पनी ।
जो जो हुन् सुख भोग् सबै वश रहुन् तिम्रा हनूमान् भनी ॥३६९॥

आशीर्वाद् यति बक्सनू जब भयो बीदा हनूमान् भया ।
आनन्दाश्रु गिराइ तप् गरुँ भनी हीमालयैमा गया ॥
फेर् ठाकुर् गुहका अगाडि गइ यो हूकुम् कृपाले गर्या ।
जाऊ लौ घर मै बसी रहु फगत् मन् मात्र मैमा धर्या ॥३७०॥

यो प्रारब्ध ठुलो छ भोग न गरी टर्दैन कस्तै गरी ।
हून्यैछो तिमि मुक्तदेह पछि ता संसार् सहज्मा तरी ॥
हूकुम् यो गरि मुख्य भक्त गुहका साम्ने अगाडी सरी ।
आलिङ्गन् दिइ भूषणादि दिनु भो राज्यै समेत् थप् गरी ॥३७१॥