Jump to content

Page:Bhanubhaktako ramayan.pdf/188

From Nepali Proofreaders
This page has not been proofread

माला काञ्चन वायुले पनि दिया हार् इन्द्रजीले पनी ।
नाना रत्न खचित् गरायर दिया पैह्रुन् सिताराम् भनी ॥
गाऊँछन् तहिं देवका गणहरू सब् अप्सरा नाच्तछन् ।
बर्ष्यो खुप् सित पुष्पवृष्टि नगरा बज्दा भयो खूसि मन् ॥३६०॥

गम्भीर् श्याम शरिर् किरीट् छ सिरमा माला पिताम्बर् धरी ।
कोटी काम समान सुन्दर स्वरुप् वाम् तर्फ सीता धरी ॥
सिंहासन् बसि सब् प्रजा तिर नजर् दीनू भयेथ्यो जसै ।
दर्शन् गर्न भनेर पार्वति समेत् आया सदाशिव् तसै ॥३६१॥

डिम् डिम् शब्द भयो तहाँ डमरुको नन्दी र भृङ्गी पनी ।
ताल् वेताल्हरु नाच्न लागि त गया आया सदाशिव् भनी ॥
शम्भूका पछि देवगण् सब तहाँ आयेर हाजिर् भया ।
श्रीराम्को स्तुति खुप् गरेर खुसि भै सब् जल्दि फर्की गया ॥३६२॥

बाजा खुप् शब्द गर्छन् स्तुति गरि ऋषिगण् देवगण् पाउ पर्छन् ।
बर्षन्छन् पुष्पवृष्टी प्रभु उपर अनेक् प्राणिले सौख्य गर्छन् ॥
सिंहासन्मा विराज्मान् सकल गुणनिधान् राम् हुनू भो जसै ता ।
सीता लक्ष्मण् सँगै छन् प्रभुकन हुन गो पूर्ण शोभा तसै ता ॥३६३॥

राजा श्रीरघुनाथ् हुँदा पृथिविमा शस्यादि खूपै बढ्यो ।
थीयानन् अति गन्ध जौन फुलमा तिन्मा सुगन्धी बढ्यो ॥
धेनूदान् वृषदान् गर्या प्रभुजिले तिस्कोटि सुन्दान् गरी ।
वस्त्राभूषण रत्नदान् पनि गर्या दारिद्र्य सब्को हरी ॥३६४॥

दान्ले ब्राह्मण खुस् गराइ रघुनाथ् सुग्रीवलाई पनी ।
माला सूर्य समानको दिनु भयो दीनू उचित् हो भनी ॥
मर्याद् खुप् गरि बाजुबन्ध दिनु भो अङ्गद्जिलाई पनी ।
ताहीं एक अमूल्य हार् दिनु भयो सीताजिलाई पनी ॥३६५॥