हात् जोरी विनती गर्या पनि तहाँ नासो लियाको थियाँ ।
यो गादी लिइ बक्सियोस् हजुरले मैले हजुर्मा दियाँ ॥
सब् कोष्मा पनि अन्नको र धनको दस् खण्ड बढ्ता गरी ।
राख्याको छु दयानिधान् हजुरका सेवा विषे मन् धरी ॥३४२॥
यो बिन्ती खुसिले तहाँ भरतले साम्ने गर्याथ्या जसै ।
देख्या भक्ति भरत्जिको खुसि भई सम्पूर्ण रोया तसै ॥
नन्दीग्राम् पुगि उत्रि बक्सनु भयो ठाकुर् जमिन्मा पनी ।
पुष्पक्लाइ बिदा पनी दिनु भयो कूवेर थ्यैं जा भनी ॥३४३॥
ताहाँ श्रीरघुनाथ् वशिष्ठ गुरुका पाऊ नमस्कार् गरी ।
याहाँ राज् गरि बक्सियोस् भनि असल् आसन् अगाडी धरी ॥
आसन्मा गुरुलाइ राखि नजिकै आसन् विषे राज् भयो ।
पाया दर्शन रामको र सबका सम्पूर्ण सन्ताप् गयो ॥३४४॥
कैकेयी र भरत् मिलेर रघुनाथ्ज्यूका चरण्मा परी ।
हात् जोरी कन राज्य अर्पण गर्या बिन्ती बहूतै गरी ॥
जस्ले एक कटाक्षले सहज यो ब्रह्माण्ड सब् हर्दछन् ।
जो ऐश्वर्य छ इन्द्रको उ पनि एक् क्षण्मा तयार् गर्दछन् ॥३४५॥
यस्ता शुद्ध अनन्त पूर्ण सुख रुप् ब्रह्मस्वरुप्ले पनी ।
क्या राज् गर्नु थियो तथापि लिनु भो खूसी हउन् ई भनी ॥
पैल्हे स्नान् भरतादिले जब गर्या क्षौर्ले जटा साफ् गरी ।
स्नान् सीतापतिको पछी तहिं भयो तेस्तै प्रकार्ले गरी ॥३४६॥
माला चन्दन वस्त्र येहि पहिरी आसन् विषे राज् भयो ।
राम्को स्नान् र सिताजिको तहिं सँगै हूँदा सबै ताप् गयो ॥
सीताराम् रथमा सवार् हुनु भयो सुग्रिव् विभीषण्हरू ।
हात्तीमा रथमा सवार् हुन गया घोडै महाँ क्वै अरू ॥३४७॥
Page:Bhanubhaktako ramayan.pdf/185
Appearance
This page has not been proofread
