Jump to content

Page:Bhanubhaktako ramayan.pdf/184

From Nepali Proofreaders
This page has not been proofread

देख्या श्रीरघुनाथको जब विमान् कीर्तन् सबैले गर्या ।
घोडामा रथमा जती विर थिया ती सब् जमिन्मा झर्या ॥
पृथ्वीमा न झरी उनै प्रभुजिको दर्शन् मिलेथ्यो जसै ।
टाढै बाट गर्या प्रणाम् भरतले खुप् हर्ष मान्या तसै ॥३३६॥

भाईलाइ विमानमा लिनु भयो ताहीं जमिन्मा झरी ।
फेरी जल्दि पर्या भरत् चरणमा साष्टाङ्ग सेवा गरी ॥
काखैमा पनि राखि बक्सनु भयो राम्ले भरत् खुस् भया ।
सीताजी कन दण्डवत् गरुँ भनी साम्ने अगाडी गया ॥३३७॥

ख्वामित् हूँ म भरत् पर्याँ चरणमा यस्तो पुकारा गरी ।
सीताका पनि पाउमा परि गया आनन्दसागर् परी ॥
लक्ष्मण्लाइ पनी प्रणाम् तहिं गर्या काम्ले बडा छन् भनी ।
आलिङ्गन् गरि सुग्रिवादि विरको दिल् खुस् गराया पनी ॥३३८॥

सुग्रीवादि जती त वानर थिया ती मानिसै झैं भई ।
सोध्या प्रश्न कुशल् सबै भरतको आफ्नू कुशल् सब् कही ॥
मर्जी सुग्रिवलाइ तेस् बखतमा यस्तो भरत्को भयो ।
याहीं बाट दया भयो प्रभुजिका सब् शत्रुको ज्यान् गयो ॥३३९॥

चारै भाइ थियौं अगाडि अहिले पाचौं हुनू भो यहाँ ।
भाईका झइँ यो सहाय न भया राक्षस् जितिन्थ्या कहाँ ॥
यस्ता प्रेम् सित बात् गर्या भरतले सुग्रीवजी थ्यैं गई ।
श्रीराम्चन्द्रजिका पर्या चरणमा शत्रुघ्न खूसी भई ॥३४०॥

लक्ष्मण्जी कन दण्डवत् गरि सिताज्यूका चरण्मा पर्या ।
सेवक् हूँ करुणानिधान् हजुरको यो ताहिं बिन्ती गर्या ॥
श्रीराम्चन्द्रजिका खराउ राखी गयाका थिया ।
वेला भो भनि पाउमा भरतले ताहीं लगाई दिया ॥३४१॥