येती विर्हरु साथ छन् भनि कुशल् विस्तार् सुनाया जसै ।
खूसी भै कन अङ्कमाल् पनि गर्या ताहीं भरत्ले तसै ॥
राम्को सुग्रिवको कहाँ हुन गयो भेट् सब् बताऊ भनी ।
सोध्या ताहिं भरत्जिले र हनुमान्ले सब् बताया पनी ॥३३०॥
सुग्रिव् सीत मित्यारी गर्नु पनि भो साहाय सुग्रिव् भया ।
लङ्कामा रहिछिन् सिता र रघुनाथ्ज्यूका सँगै ती गया ॥
सीता रावणले हरेछ र बहुत् दुःखी सरीका भई ।
सीताजी कन खोजि खोजि रघुनाथ् फेर् ऋष्यमुक्मा गई ॥३३१॥
लङ्कामा गइ भारि युद्ध गरियो सब् रावणादी गिर्या ।
लङ्काका अधिराज् विभीषण गरी श्रीराम् अयोध्या फिर्या ॥
सब् विस्तार् हनुमान देखि रघुनाथ्ज्यूको सुन्याथ्या जसै ।
भाईलाइ हुकुम् दिया नगरिको संस्कार खातिर् तसै ॥३३२॥
हे शत्रुघ्न गराउ सब् नगरिको संस्कार् अगाडी सरी ।
सब् देवालयमा पूजा अब गरुन् नाना विधान्ले गरी ॥
सुत् वैतालिक बन्दिजन्हरु समेत् निस्कुन् ति कस्बीहरू ।
सब् जाउन् रघुनाथका हजुरमा जो जो यहाँ छन् अरू ॥३३३॥
भारी फौज लियेर मन्त्रिहरुले सब् राजपत्नी लिया ।
ब्राह्मण्लाइ अगाडि लायर हिंडुन् सब्लाइ उर्दी दिया ॥
हूकुम् येती दिया तहाँ भरतले हूकुम् बमोजिम् गरी ।
हात्मा भेटि लियेर लस्कर चल्यो खुप् हर्ष भो तेस् घरी ॥३३४॥
श्रीराम्चन्द्रजिका खराउ सिरमा राखी तयारी भया ।
भाई साथ लिई भरत् प्रभुजि थ्यैं हींडेर पैदल् गया ॥
आयो श्रीरघुनाथको पनि विमान् चन्द्रै सरीको बनी ।
देखाया हनुमानले प्रभुजिको तेही विमान् हो भनी ॥३३५॥
Page:Bhanubhaktako ramayan.pdf/183
Appearance
This page has not been proofread
