Jump to content

Page:Bhanubhaktako ramayan.pdf/182

From Nepali Proofreaders
This page has not been proofread

हूकुम् भो हनुमानलाइ हनुमान् लौ श्रृङ्गवेर्मा गई ।
मेरा खुप् प्रिय छन् सखा गुह तहाँ तिन् थ्यैं समाचार् कही ॥
नन्दीग्राम् गइ भाइलाइ गरि भेट् श्रीराम आया भनी ।
मेरो लक्ष्मणको सिताजि हरुको सम्चार् बताऊ पनी ॥३२४॥

मैले काम जती गर्याँ भरत थ्यैं सम्पूर्ण विस्तार् गरी ।
वाहाँको समचार् लिई कन फिर्या सन्ताप् सबैको हरी ॥
हूकुम् यो हनुमानले जब सुन्या मानिस् सरीका बनी ।
जल्दी गै गुहलाइ सब् कहि दिया आया सिताराम् भनी ॥३२५॥

फेर् जल्दी सरयू तरी कन गया देख्या अयोध्या पनी ।
नन्दीग्राम् जब देखियो तहिं गया जान्या उहीं हो भनी ॥
वैलाई रहँदा जउन् तरहले फुल् सुक्छ फुस्रो भई ।
तस्तै रैयतिको दशा नजर भो साह्रै करूणा गई ॥३२६॥

देख्या तहाँ भरतलाइ जटा धर्याका ।
श्रीरामका चरण चिन्तन खुप् गर्याका ॥
राम्का खराउ कन मालिक जानि मानी ।
हूकुम् दिंदा पनि त सेवक आफु जानी ॥३२७॥

सब् गेरुवा पहिरि मन्त्रि पनी बस्याका ।
राम्को भजन् तिर त कम्मर खुप् कस्याका ॥
देख्या भरत् कन र खुस् भइ हात जो़डी ।
बिन्ती गर्या भरतका सब ताप तोडी ॥३२८॥

जस्को चिन्तन गर्नु हुन्छ महराज् सो नाथ् सिताराम् पनी ।
आई पुग्नु भयो मलाइ अघि जा भेट् भाइलाई भनी ॥
हूकुम् भो रघुनाथको र म यहाँ आयाँ हुकुम्ले गरी ।
सीता लक्ष्मणले सहित् कुशल छन् त्रैलोक्यका नाथ् हरी ॥३२९॥