क्याबात् भाइ भनी भरत् पनि भया सब्का उपर् काम् गरी ।
चौधै वर्ष रह्या व्रती भइ ति ता चिन्तन् ममाथी गरी ॥
भारद्वाज् ऋषिले पनी सब कुशल् थीया बताई दिया ।
हे नाथ् छन् कुशलै सबै भरतका मात्रै विपत्ती थिया ॥३१८॥
हजुर पर हुनाले रोज् फलै मात्र खान्छन् ।
हजुर सरि खराऊ गादिमा राखि मान्छन् ॥
सिर भरि छ जटाजुट् वल्कलै छन् धर्याका ।
फगत हजुरमा छन् प्राण अर्पण् गर्याका ॥३१९॥
सब् जान्दछू हजुरले पनि ता गर्याको ।
राक्षस् विनाश गरि भार् भुमिको हर्याको ॥
त्यो सब् प्रसाद् हजुरको सब तत्त्व जान्याँ ।
जो ब्रह्म हो उ त हजुर् कन आज मान्याँ ॥३२०॥
लीला गरी हजुरले अवतार् गर्याको ।
ब्रह्मादि देवगणका पनि ताप् हर्याको ॥
जो ई चरित्र कन खुस् भइ गान गर्छन् ।
संसार्समुद्र सहजै पनि आज तर्छन् ॥३२१॥
ब्रह्माजिका वचनले यहि रूप धारी ।
भार् हर्नु भो सकल रावणलाइ मारी ॥
सब् लोकको हित हुन्या अरु काम् गरीनन् ।
चौधै भुवन् हजुरका यशले भरीनन् ॥३२२॥
मेरो आज पवित्र घर् पनि हवस् एक् रात् यहाँ राज् गरी ।
भोली जानु असल् हुन्या छ पुरिमा बिन्ती छ पाऊ परी ॥
भारद्वाज् ऋषिले यती हजुरमा बिन्ती गर्या राज् भयो ।
सम्मान् सैन्य समेत् गर्या र ऋषिले सम्पूर्णको ताप् गयो ॥३२३॥
Page:Bhanubhaktako ramayan.pdf/181
Appearance
This page has not been proofread
