यो लङ्कापुरि हो अगम् छ बलले को जान सक्छन् अरू ।
त्यो भूमि रणभूमि हो तहिं मर्या ठूला ठुला विर्हरू ॥
ताहीं रावण कुम्भकर्ण त मर्या भारी लडाई गरी ।
लक्ष्मण्ले तहिं इन्द्रजित् कन जित्या साम्ने अगाडी सरी ॥३१२॥
सागर्मा पनि हेर सेतु बलियो बाँध्याँ र सागर् तर्याँ ।
रामेश्वर् भनि नाम राखि शिवको स्थापन् किनार्मा गर्याँ ॥
चार् मन्त्री सँग ली विभीषण तहीं आई शरण्मा पर्या ।
किष्किन्धा यहि हो यसै नगरिमा सुग्रीव राजा भया ॥३१३॥
वार्ता येति गर्या सिता सित र फेर् तारा झिकाऊ भनी ।
सुग्रीव्लाइ हुकुम् भयो प्रभुजिको तारा झिकाया पनी ॥
तारा रानिहरू समेत् चढि सक्या ताहाँ विमान्मा जसै ।
सीतालाइ नजर् गराउनु भयो बाली गिर्याको तसै ॥३१४॥
सीते हेर अगाडि पञ्चवटि बेस् राक्षस् तहाँ धेर् मर्या ।
त्यो आश्रम् पनि हो अगस्ति ऋषिको जस्ले कृपा खुप् गर्या ॥
तेसै पल्तिरको सुतीक्ष्ण ऋषिको धेरै ऋषी छन् जहाँ ।
त्यो हो पर्वत चित्रकूट् भरतले भेट् नै गयाथ्या जहाँ ॥३१५॥
जो आश्रम् जमुनाजिका छ तिरमा ताहाँ भरद्वाज छन् ।
गङ्गा हुन् इ अगाडिकी नजरले देख्तै खुसी हुन्छ मन् ॥
जो देख्छ्यौ अझ छन् परै सरयु हुन् ती हुन् अयोध्यापुरी ।
पूरीलाइ गर प्रणाम तिमिले भक्ती गरी नीहुरी ॥३१६॥
सीताजी कन येही रित् सित सबै खोलेर विस्तार् गरी ।
भारद्वाज् कन गै प्रणाम् पनि गर्या जल्दी जमिन्मा झरी ॥
हात् जोरी कन सोध्नु भो जब यहाँ सब् जन् कुशल् छन् भनी ।
वृद्धै हुन् महतारिको छ गति क्या ज्यूँदै ति छन् की भनी ॥३१७॥
Page:Bhanubhaktako ramayan.pdf/180
Appearance
This page has not been proofread
