Jump to content

Page:Bhanubhaktako ramayan.pdf/179

From Nepali Proofreaders
This page has not been proofread

हूकुम् येति हुँदा विभीषणजिले रत्नादि वृष्टी गर्या ।
जस्ले जुन् चिज खोज्छ सो चिज दिई सब् फौजको ताप् हर्या ॥
सब् फौज्लाइ बिदा पनी दिनु भयो राम्ले कृपा खुप् गरी ।
फौज् वानर्हरुको पनी तरि गयो आनन्दमा खुप् परी ॥३०६॥

काम् सब् सिद्ध भयो यहाँ किन बसूँ जान्छू अयोध्या भनी ।
सीता लक्ष्मण साथमा लिइ चढ्या श्रीराम् विमान्मा पनी ॥
सुग्रिव् अङ्गदजी विभीषण समेत् राम्का हजुर्मा थिया ।
तिन्लाई पनि जाउ राज् गर भनी बीदा प्रभूले दिया ॥३०७॥

ती सब्ले तहिं बिन्ति खुप् सित गर्या जान्छौं अयोध्यै भनी ।
सब्को आग्रह देखि खूसि हुनु भो ताहाँ रमानाथ् पनी ॥
पुष्पक्मा चढ आज आउ तब लौ भन्न्या हुकुम् भो जसै ।
सुग्रिव् श्रीहनुमान अङ्गद चढ्या पुष्पक् विमान्मा तसै ॥३०८॥

आफ्ना मन्त्रि लिई विभीषण पनी तेसै विमान्मा बस्या ।
सेना सुग्रिवका पनी हुकुमले सम्पूर्ण ताहीं बस्या ॥
सीतानाथहरू सबै बसि रही शोभा अधिक् गर्दथ्या ।
सो शोभाकन वानरादि विरले झन् भारि मज्जा गर्या ॥३०९॥

सेना समेत् सब विमान उपर् चढाई ।
हूकुम् दिया प्रभुजिले जब जानलाई ॥
आकाशमार्ग गरि जान विमान धायो ।
शोभा अपूर्व रघुनाथ चढ्या र पायो ॥३१०॥

दौड्यो पुष्प विमान् जसै हुकुमले आकाश बिच्मा पसी ।
पृथ्वीको पनि याद् सबै हुन गयो तेसै विमान्मा बसी ॥
जुन् जुन् काम जहाँ जहाँ अघि भया याहाँ गर्याँ यो भनी ।
सीतालाइ नजर् गराउनु भयो खुस् भै प्रभूले पनी ॥३११॥