Jump to content

Page:Bhanubhaktako ramayan.pdf/178

From Nepali Proofreaders
This page has not been proofread

अग्नीले पनि बिन्ति बात् गरि तहाँ सीता जसै ता दिया ।
खूसी मन् रघुनाथको हुन गयो सीताजिलाई लिया ॥
सीताजी कन काखमा लिइ तहाँ ठाकुर् बस्याथ्या जसै ।
भक्तीले स्तुति इन्द्रले पनि गर्या खूसी भया सब् तसै ॥३००॥

फेर् बिन्ती शिवले खुसी भइ गर्या राम्का हजुर्मा तहाँ ।
सीतानाथ् म त आउन्याछु पछि फेर् वाहीं अयोध्या महाँ ॥
ऐल्हे ई दशरथ् पिता हजुरका मिल्ला कि दर्शन् भनी ।
आया दर्शन आज बक्सनु हवस् ख्वामित् प्रभूले पनी ॥३०१॥

यो बिन्ती शिवको सुनेर दशरथ्जीका हजुर्मा गई ।
पाऊमा सिर राखि बक्सनु भयो अत्यन्त खूसी भई ॥
आलिङ्गन् दशरथ्जिले पनि गर्या तार्यौ मलाई भनी ।
बीदा भै दशरथ् खुसी भइ गया फेर् स्वर्गलोक्मा पनी ॥३०२॥

वानर्को जति फौज् मर्यो रण हुँदा ती सब् बचाऊँ भनी ।
अम्रित् वृष्टि गराउना कन हुकुम् भो इन्द्रलाई पनी ॥
हूकुम् पाइ ति इन्द्रले पनि तहाँ अम्रित् गिराया जसै ।
वानर्को सब फौज् खडा पनि भयो राम्का कृपाले तसै ॥३०३॥

बिन्ती ताहिं गर्या विभीषणजिले राम्का चरण्मा परी ।
मङ्गल्स्नान् गरि बक्सियोस् हजुरले यो स्नानको हो घरी ॥
मङ्गल्स्नान् गरि वस्त्र भूषण धरी राज् आज याहीं हवस् ।
सेवक् हूँ करुणानिधान् हजुरको प्रीति म माथी रहोस् ॥३०४॥

बिन्ती सूनि हुकुम् भयो हुन त हो जान्या त हो स्नान् गरी ।
क्यारू आज घरै छ भाइ त भरत् मै झैं जटाजुट् धरी ॥
त्यो भाई पर राखि आज म यहाँ कुन् रीतले स्नान् गरू ।
सुग्रीव् वीर्हरु छन् इ देउ तिमिले इन्लाइ खिल्लत् बरू ॥३०५॥