Jump to content

Page:Bhanubhaktako ramayan.pdf/177

From Nepali Proofreaders
This page has not been proofread

अग्नीमा अघि राखियाकि कन फेर् लीन्या तहाँ सुर् गरी ।
दोष् दीया रघुनाथले किन यहाँ आयौ नजीकै भनी ॥
आर्काका घरमा बस्याकि भनी यो दोषै दिनू भो जसै ।
लक्ष्मण्लाइ हुकुम् दिइन् जननिले विश्वास खातिर् तसै ॥२९४॥

हे लक्ष्मण् तिमि अग्नि बाल अहिले ताहीं प्रवेश् गर्दछू ।
साँचै छू त म बाँचुला झुठि भया ऐल्हे तहीं मर्दछू ॥
हूकुम् लक्ष्मणले तहाँ जननिको सून्या र राम्को पनी ।
मत् पाई कन अग्नि खुप् गरि ठुलो बाली दिया बेस् भनी ॥२९५॥

सीताजी पनि खुप् प्रदक्षिण गरिन् राम्को र भक्ती गरी ।
अग्नीका नजिकै खडा पनि भइन् केही अगाडी सरी ॥
द्यौता ब्राह्मण संझि राम्चरणको ध्यान् भीत्र मन्मा धरिन् ।
सब्का साक्षि भनेर अग्नि सित हात् जोरी पुकारा गरिन् ॥२९६॥

जस्ता रित् सित रामका चरणमा ध्यान्मा रह्याकी म छू ।
तस्तै रित् सित अग्नि शीतल हउन् तापै न लागोस् कछू ॥
बोलिन् येति र अग्निमा पसि गइन् ताहाँ सिताजी जसै ।
सब्का ताप् मनमा भयो विरहका बात् गर्न लाग्या तसै ॥२९७॥

सीता अग्नि विषे जहाँ त पसिथिन् इन्द्रादि लोक्पाल्हरू ।
ब्रह्मा रुद्र समेत् सबै तहिं गया जो देवता छन् अरू ॥
जम्मा भै रघुनाथको स्तुति गर्या सब् देवगण्ले पनी ।
ब्रह्माले पनि खुप् गर्या स्तुति तहाँ मालिक् इनै हुन् भनी ॥२९८॥

अग्नीले पनि बिन्ति खुप् सित गर्या राम्का चरण्मा परी ।
भूषण् वस्त्र अनेक् धर्याकि जननी सीता अगाडी धरी ॥
सीताजी कन आज सम्म त यहीं राखी दियाको थियाँ ।
काम्को सिद्ध भयो लिनू अब हवस् सीता हजुर्मा दियाँ ॥२९९॥