अज्ञान्को मति यो न लेउ तिमिले झूटो जगत् हो भनी ।
जानी श्रीरघुनाथका चरणमा खुप् ध्यान् लगाऊ पनी ॥
प्रारब्धै बलवान् बुझेर सब यो राज्यादि गर्दै रहू ।
जो पर्छन् परि आउन्या सब कुरा नीका न नीका सहू ॥२७६॥
दाज्यूको गरि हाल आज तिमिले क्रीया विधान्ले गरी ।
रुन्छन् रानिहरू बुझाउ अहिले चाँडै अगाडी सरी ॥
यस्तै ठाकुरको हुकुम् छ भनि बेस् रित्ले बुझाया जसै ।
विस्तार् लक्ष्मण्को सुन्या र झट्पट् ऊठ्या विभीषण् तसै ॥२७७॥
बिन्ती गर्न भनी जहाँ प्रभु थिया ताहाँ तुरुन्तै गया ।
हात् जोरी कन रामका हजुरमा क्यै बिन्ति गर्दा भया ॥
हे नाथ् मर्जि भयो कबुल् गरि लियाँ आज्ञा सिरोपर् धरी ।
बिन्ती गर्छु तथापि सत्य भगवन् एक् भारि शङ्का परी ॥२७८॥
यो क्रूर हो प्रभु परस्त्रि पनी त हन्र्या ।
यस्को क्रिया कसरि योग्य भनेर गन्र्या ॥
बिन्ती गर्या यति विभीषणले र ताहाँ ।
खूसी भई हुकुम भो उहि बीच माहाँ ॥२७९॥
बाचुन्ज्याल् रिस हुन्छ शत्रु सितको ऐल्हे मरी यो गयो ।
यस्को रिस् अब गर्नु छैन अब ता मेरो त रिस् दुर् भयो ॥
रुन्छन् रानिहरू बुझाउ गर लौ क्रीया विधान्ले गरी ।
पैल्हे यै न गरी हुँदैन तिमिले यै हो क्रियाको घरी ॥२८०॥
हूकुम् येति सुन्या जसै प्रभुजिको योग्यै हुकुम् भो भनी ।
रानीलाइ बुझाउना कन गया चाँडै विभीषण् पनी ॥
रानीलाइ बुझाइ सब् गरि सक्या क्रीया विधान्ले गरी ।
रानी सब् घरमा पठायर गया जाहाँ थिया राम् हरी ॥२८१॥
Page:Bhanubhaktako ramayan.pdf/174
Appearance
This page has not been proofread
