साँचो भन्छु म आज देवगण हो यस्ले बहुत् ध्यान् गर्यो ।
सीतानाथ् प्रभुको र यो तब सहज् संसारसागर् तर्यो ॥
भक्तीले भयले अवर् तरहले कौनै प्रकार्ले गरी ।
ध्यान् सीतापतिको गर्यो पनि भन्या जाइन्छ संसार् तरी ॥२७०॥
रावण् मारि धनू उतारि करको एक् शर् लिलाले गरी ।
चारौं तर्फ घुमाउँदा शरिरमा धेर् बाणको खत् धरी ॥
कोटी सूर्य्य सरी त तेज् छ जसका यस्ता जगन्नाथ् हरी ।
हाम्रा दुःख पनी सबै हरि दिउन् सम्पूर्ण पाप् नाश् गरी ॥२७१॥
रावण् मारि उतारि भारि भुमिको सुग्रिव् विभीषण्हरू ।
लक्ष्मण् अङ्गद जाम्बवान् र हनुमान् जो जो थिया विर् अरू ॥
ती सब्लाइ हुकुम् भयो प्रभुजिको तिम्रै कृपाले गरी ।
मार्यां रावणलाइ कीर्ति रहला तिम्रो तिनै लोक् भरी ॥२७२॥
रावण्का सब रानि आयर विलाप् खुप् गर्न लाग्या तहाँ ।
पृथ्वीमा लडि खुप् विभीषण पनी रोया रहन्थ्या कहाँ ॥
बीत्या दाज्यु भनी विभीषण पनी खुप् रून लाग्या जसै ।
लक्ष्मण्लाइ हुकुम् भयो प्रभुजिको संझाउ भन्न्या तसै ॥२७३॥
दाज्यूको किरिया गरुन् सब हरुन् ती रानिको शोक् पनी ।
हूकुम् येति मिल्यो र लक्ष्मण गया जल्दी बुझाऊँ भनी ॥
लाग्या भन्न अहो विभीषण तिमी क्या यो न जान्न्या सरी ।
लाग्यौ गर्न विलाप् अनेक् तरहले खाली जमिन्मा परी ॥२७४॥
तिम्रो यो अघि जन्ममा कउन हो ऐल्हे त दाज्यू भयो ।
फेरी क्या हुनलाइ रावण यहाँ छोडेर काहाँ गयो ॥
जम्मा भै कन बालुवा जसरि फेर् फिर्छन् र गङ्गा महाँ ।
यस्तै रित् सित फिर्दछन् इ दुनियाँ क्वै छैन आफ्नू यहाँ ॥२७५॥
Page:Bhanubhaktako ramayan.pdf/173
Appearance
This page has not been proofread
