Jump to content

Page:Bhanubhaktako ramayan.pdf/168

From Nepali Proofreaders
This page has not been proofread

हे मन्दोदरि इन्द्रजित् पनि मर्यो ठूला ठुला विर् मर्या ।
कुम्भैकर्ण मर्यो अनेक् अरु पनी सङ्ग्राममा विर् पर्या ॥
येती सम्म भया पछी कसरि फेर् लत्रेर पाऊ परू ।
शत्रू थ्यैं गइ लत्रि बाँच्नु न निको प्राण आज जावस् बरू ॥२४०॥

विष्णू हुन् रघुनाथ् सिता पनि इनै लक्ष्मी भनी जान्दछू ।
जानी जानि सिता हर्याँ त म उसै क्या आज डर् मान्दछू ॥
राम्का हात परी मरूँ भनि त हेर् सीताजिलाई हर्याँ ।
राम्का हात परी मर्याँ पनी भन्या संसार् सहज्मा तर्याँ ॥२४१॥

फेरी तुरुन्त रघुनाथ् सित लड्न जान्छू ।
मार्नन् मलाइ रघुनाथ् तब खूसि मान्छू ॥
संसारका सकल ताप्हरुलाइ तोडी ।
जान्याछु पारि तिमिलाइ त वारि छोडी ॥२४२॥

राग्द्वेष्का भेल चल्छन् भँवरि सरि इ युग् घुम्दछन् बीच माहाँ ।
पुत्रादी मत्स्य झैं छन् रिस पनि वडवानल् सरीको छ ताहाँ ॥
कामैको जाल् छ ठूलो छ त पनि चलियो तेहि जाल्लाइ फारी ।
संसार्सागर् सहज्मा तरि कन हरि थ्यैं बस्न जान्याछु पारी ॥२४३॥

मन्दोदरी सित यती भनी लड्नलाई ।
कम्मर् कसेर बलियो रथ यक् मगाई ॥
रथ्मा चढेर रघुनाथ् सित जान आयो ।
राम्चन्द्रको सकल वानरफौज् डरायो ॥२४४॥

त्यो रावण् रणभूमिमा जब पुग्यो साम्ने हनूमान् गया ।
मूर्छा पारि गिराउँ यस् कन भनी एक् मुड्कि हान्दा भया ॥
छातीमा जब मुड्कि बज्रन गयो खुप् वज्र तुल्यै गरी ।
घूँडा टेकि गिर्यो पनी दुइ घडी मूर्छा तुरुन्तै परी ॥२४५॥