Jump to content

Page:Bhanubhaktako ramayan.pdf/167

From Nepali Proofreaders
This page has not been proofread

आत्मज्ञान स्वरुप् बुझेर मनले अज्ञानको नाश् गरी ।
स्वस्थै भै रहु शोक् न मान तिमिले क्या हुन्छ यो शोक् गरी ॥
हे मन्दोदरि मार्छु राम् कन सहज् सङ्ग्राम ठूलो गरी ।
रामैले यदि मार्दछन् त पनि बेस् जान्या छु संसार् तरी ॥२३४॥

सङ्ग्राम्मा मरि गै गयाँ पनि भन्या मार्नू र सीता यहाँ ।
अग्नीमा तिमिले प्रवेश् तब गरी आया म जान्छू जहाँ ॥
रावण्का इ वचन् सुनेर अति ताप् मान्दी ति मन्दोदरी ।
साँचो बिन्ति म गर्छु आज महराज् भन्दै अगाडी सरी ॥२३५॥

बिन्ती रावण थ्यैं गरिन् पनि तहाँ राम् हुन् जगन्नाथ् हरी ।
जीती सक्नु कदापि छैन अरुले कस्तै लडाई गरी ॥
वैवस्वत् मनुलाइ मत्स्यरुपले जस्ले त रक्षा गर्यो ।
फेरी कूर्म भयेर मन्दर पनी जस्ले पिठैमा धर्यो ॥२३६॥

प्राण् खैंचेर लिया वराहरुपले जस्ले हिरण्याक्षको ।
बाँची कोहि फिरेन लड्दछु भनी साम्ने गयाको छ जो ॥
ठूलो दैत्य थियो हिरण्यकशिपू मार्या नृसिंहै भई ।
राज्यै खैंचि लिया छलेर बलिको वामन् स्वरुप्ले गई ॥२३७॥

थीया क्षत्रिय पृथ्विमा परशुराम् भै नाश् सबैको गर्या ।
तिम्रो प्राण् लिनलाइ आज पनि नाथ् राम भै अगाडी सर्या ॥
सीता हर्नु थियेन हेलन गरी सीताजि हर्नू भयो ।
यै काम्ले इ विपत् पर्या हजुरमा ज्यान् इन्द्रजित्को गयो ॥२३८॥

सीता सुम्पनु पर्छ आज अधिराज् राम्चन्द्रजी थ्यैं गई ।
लङ्कामा पनि राज् विभीषण गरुन् राम्कै पियारा भई ॥
सब् छोडी कन आज जाउँ वनमा येती भनीथिन् जसै ।
रावण्ले पनि ई वचन् सुनी जवाफ् खुप् दीन लाग्यो तसै ॥२३९॥