Jump to content

Page:Bhanubhaktako ramayan.pdf/169

From Nepali Proofreaders
This page has not been proofread

मूर्छा देखि उठ्यो र रावण तहाँ स्याबास् तँ होस् विर् भनी ।
ठूला विर् हनुमानलाइ बुझि खुप् साह्रै सह्रायो पनी ॥
रावण्ले हनुमानको सह्रनि खुप् ताहाँ गरेथ्यो जसै ।
रावण्का सब सेखि तोड्न हनुमान् विर् बोल्न लाग्या तसै ॥२४६॥

हे रावण् किन गर्दछस् सह्रनि यो धिक्कार् म मान्छू बरू ।
मेरो मुड्कि पर्या पछी पनि बचिस् बोल्छस् यहाँ क्या गरू ॥
एक् चोट् हान् तँ पनी मलाइ म पनि फेर् हान्छु छाती महाँ ।
एक् मुड्की अब हानुला तँ न मरी उम्केर जालास् कहाँ ॥२४७॥

ई बात् श्रीहनुमानले जब गर्या बेसै भन्यो हो भनी ।
एक् चोट् श्रीहनुमानका हृदयमा ताकेर हान्यो पनी ॥
फेरी श्रीहनुमान् सर्या अघि तहाँ मुड्की उठाई जसै ।
रावण् टिक्न सकेन एक् क्षण पनी अन्यत्र भाग्यो तसै ॥२४८॥

रावण्का सँग चार् जना विर थिया मन्त्री लडाकी पनी ।
ई चार् विर् कन चार् जना अघि सरी ऐल्हे निभाऊँ भनी ॥
अङ्गद् श्रीहनुमान नील नल ई चार् वीर कूदी गया ।
रावण्का सँगका ति चार् विर सहज् मारेर फिर्दा भया ॥२४९॥

ती चार् जना जब मर्या तब झन् रिसायो ।
राम्का उपर् अघि सरी कन बाण् खसायो ॥
बाक्ला बुँदै सरि ति शर् जब खस्न आया ।
खुप् वानरादि विरले पनि दुःख पाया ॥२५०॥

यो चाल् वानरको बुझी रघुपती साम्ने अगाडी सरी ।
लाग्या लड्न तहाँ अनेक् तरहले त्रैलोक्यका नाथ् हरी ॥
त्यो रावण् रथमा थियो रघुपती खाली जमिन्मा थिया ।
राम्का खातिर इन्द्रले अति असल् एक् रथ् पठाई दिया ॥२५१॥