Jump to content

Page:Bhanubhaktako ramayan.pdf/166

From Nepali Proofreaders
This page has not been proofread

रावण्ले तहिं होम गर्न भनि एक् सूरो लियाको पनी ।
खोस्या श्रीहनुमानले र रिसले हान्या उठोस् यो भनी ।
ध्यानैमा दृढ मन् गरी अचल भै रावण् बसेथ्यो जसै ।
ल्याया अङ्गदले त खैंचि नजिकै मन्दोदरी पो तसै ॥२२८॥

ती मन्दोदरिलाइ रावण नजिक् पौंचाइ हुर्मत् लिया ।
चोलो खोलि अफालि फेरि कटिको सारी खसाली दिया ॥
लायाका गहना समेत् शरिरका वस्त्रै अफाल्या जसै ।
रूँदै रावणका नजीक रहँदी बिन्ती गरिन् यो तसै ॥२२९॥

हे नाथ् आज कता गयो हजुरको लज्जा अनाथ् क्या गरूँ ।
पत्नीका इ विलाप् सुनी जिउनु धिक् मर्नू निको हो बरू ॥
येती बिन्ति गरिन् र पुत्र कन खुप् संझेर लागिन् रुनै ।
आर्को कोहि थियेन ताहिं तिनका साहाय हून्या कुनै ॥२३०॥

भर्ताले पनि बाँचुला भनि यहाँ लज्जै समेत् त्याग् गर्या ।
तेरो ज्यान् अघि गै गयो गरुँ कसो ऐल्हे विपत्ती पर्या ॥
ती मन्दोदरि रानिको अति विलाप् साम्ने सुनेथ्यो जसै ।
ऊठ्यो खड्ग लियेर अङ्गदजिका हान्यो कटीमा तसै ॥२३१॥

होम्को नाश गराइ अङ्गदहरू दौडेर राम् थ्यैं गया ।
ती मन्दोदरि रानि रावण इनैका बात् तहाँ खुप् भया ॥
लाग्यो रावण भन्न रानि अहिले बाँच्नू असल् हो भनी ।
बाँच्नै खातिर ता म चुप् भइ रह्याँ येती हुँदामा पनी ॥२३२॥

बाँचे देखि त देखिइन्छ सब थोक् यस्तो बुझी ज्ञानले ।
यो शोक् दुर् गरि हाल हुन्छ अब क्या यस्ता असत् ध्यान्ले ॥
अज्ञानै छ भुलाउन्या शरिरमा यो देह मै हूँ भनी ।
त्यै अज्ञान् बलवान् भयो भनि भन्या फैलिन्छ संसार् पनी ॥२३३॥