बाणैले गरि सब् भर्यो दस दिशा वानर् सकस्मा पर्या ।
लक्ष्मण्ले पनि इन्द्रजीत विरको प्राण् लीन मन्सुब् धर्या ॥
जुन् इन्द्रास्त्र थियो उही धनु महाँ लाई अगाडी सर्या ।
चिन्तन् श्रीरघुनाथको गरि तहाँ जल्दी प्रतिज्ञा गर्या ॥२१०॥
धर्मात्मा यदि सत्य दाशरथि छन् हुन् नाथ् जगत्का धनी ।
साँचै ता अब इन्द्रजित् यहिं मरोस् येसै शरैले भनी ॥
छोड्या बाण र इन्द्रजीत विरको सीरै खसाया जसै ।
इन्द्रादीहरु पुष्पवृष्टि खुसि भै खुप् गर्न लाग्या तसै ॥२११॥
हर्षैले नगरा बज्या पृथिविको जुन् भारि हो त्यो गयो ।
हर्षैले जयशब्दको ध्वनि पनी ताहाँ बहूतै भयो ॥
लक्ष्मण्ले पनि शङ्खको ध्वनि र खुप् टङ्कार् धनूको गर्या ।
वानर्ले बहुतै गर्या स्तुति तहाँ आनन्दमा सब् पर्या ॥२१२॥
लक्ष्मण्जी सब फौज् लियेर रघुनाथ्ज्यूका हजुर्मा गया ।
पाऊमा परि दण्डवत् गरि तहाँ सब् बिन्ती गर्दा भया ॥
खूसी खुप् हुनु भो सुनेर रघुनाथ् हूकुम् भयो बेस् गर्यौ ।
मार्यौ इन्द्रजितै त आज तिमिले सब् शत्रुको मुल् हर्यौ ॥२१३॥
मेरो शत्रु अवश्य छैन अब विर् जुन् वीर हो सो गयो ।
यस् रावण् कन मार्नलाइ सजिलो यै वीर जाँदा भयो ॥
ऐल्हे युद्ध हुँदा म मार्छु सहजै भन्न्या हुकुम् यो भयो ।
रावण् विर् पनि सब् सुन्यो र समचार् मूर्छा परी गैगयो ॥२१४॥
मूर्छा देखि उठी विलाप् अति गरी फौज् लड्न पेल्यो पनी ।
हात्मा एक् तरवार् लियेर रिसले सीता म काट्छू भनी ॥
दौड्यो त्यो र सुपाश्र्व मन्त्रि नजिकै थीयो अगाडी सर्यो ।
स्त्रीघात् गर्नु अवश्य छैन महराज् यो जल्दि बिन्ती गर्यो ॥२१५॥
Page:Bhanubhaktako ramayan.pdf/163
Appearance
This page has not been proofread
