Jump to content

Page:Bhanubhaktako ramayan.pdf/162

From Nepali Proofreaders
This page has not been proofread

येती भन्यो र रिसले रथमा बस्याको ।
सब्लाइ जित्न भनि कम्मर खुप् कस्याको ॥
केही न टेरि अरु वानरलाइ हेला ।
साह्रै गराइ कन भन्छ परे इ फेला ॥२०४॥

प्राण् बाण हानि सबको म हरेर लिन्छू ।
तिम्रो शरिर् पृथिविमा म गिराइ दिन्छू ॥
यस्ता वचन् सुनि ति लक्ष्मणजी रिसाया ।
हान्या र बाण् तहिं तुरुन्त थला बसाया ॥२०५॥

मूर्छा पर्यो दुइ घरी र जुरुक्क ऊठ्यो ।
लाल् लाल् नजर् गरि रिसाइ अगाडि छूट्यो ॥
मेरो पराक्रम रती न बुझेर पैल्हे ।
हानिस् पराक्रम तँ लौ बुझिले न ऐल्हे ॥२०६॥

येती भन्यो र मनले अति वीर मानी ।
लक्ष्मण्जिलाइ तहिं सात् शर जल्दि हानी ॥
दस् बाणले त हनुमान् विरलाइ हान्यो ।
झन् मुख्य शत्रु त विभीषणलाइ मान्यो ॥२०७॥

हान्यो फेर् सय शर् विभीषण उपर् येती गरेथ्यो जसै ।
हान्या लक्ष्मणले कवच् शरिरको काटी दिया पो तसै ॥
हज्जार् शर् कन हानि लक्ष्मणजिका गाथ्का कवच्को पनी ।
टुक् पारेर गिराउँदो तहिं भयो मेरो गिरायो भनी ॥२०८॥

लक्ष्मण्ले पनि फेरि पाँच शरले घोडा र रथ् सुत् धनू ।
काटी बक्सनु भो उसै बखतमा आर्को उठायो धनू ॥
फेर् तेसै धनुलाइ काटि दिनु भो तिन् बाणले फेर् धनू ।
लीयो लक्ष्मणलाइ धेर शरले हान्यो छिटो क्या भनू ॥२०९॥