Jump to content

Page:Bhanubhaktako ramayan.pdf/161

From Nepali Proofreaders
This page has not been proofread

येती बिन्ति गरी घुमी वरिपरी लक्ष्मण् चरण्मा पर्या ।
बीदा भै रघुनाथका हुकुमले साइत् तुरुन्तै गर्या ॥
केही फौज् लिइ जाम्बवान् र हनुमान् अङ्गद् इ साथ्मा गया ।
पौंच्या जल्दि र इन्द्रजीत विरका फौज्लाइ देख्ता भया ॥१९८॥

हूकुम् सिरोपर धरी कन जल्दि पौंची ।
लक्ष्मण् अघी जब सर्या धनुलाइ खैंची ॥
लस्कर्हरू पनि अगाडि सरेर धाया ।
ताहाँ विभीषण अघी सरि बिन्ति लाया ॥१९९॥

कालो मण्डल देखिइन्छ अघि जो त्यो फौज हो वीरको ।
टुक् टुक् पारि गिराइ बक्सनु हवस् सब् वीरका सिरको ॥
ऐल्हे जल्दि न हानि बक्सनु भया होम् सिद्ध गन्र्या छ यो ॥
होम्को सिद्ध गर्यो भन्या हुँदि कसै जीती न सक्नू छ यो ॥२००॥

तेस् फौज्लाइ गिराइ बक्सनु भया त्यो इन्द्रजित् विर् पनी ।
होम् छोडी कन लड्न आउँछ यहाँ त्यो फौज् गिरायो भनी ॥
येही युक्ति तहाँ विभीषणजिले बिन्ती गर्याथ्या जसै ।
लक्ष्मण्ले पनि सैन्य माथि शरको वृष्टी गराया तसै ॥२०१॥

वानर्ले पनि वृक्ष पर्वत शिला फौज् माथि फेंक्या जसै ।
राक्षस्को पनि फौज् अघी सरि सरी खुप् लड्न लाग्यो तसै ॥
लक्ष्मण्ले शरले अनेक् तरहले मार्या र नास्यो भनी ।
साह्रै क्रोध गरेर इन्द्रजित विर् होम् छोडि आयो पनी ॥२०२॥

पक्का बेस् रथमा चढी धनु लिइ साम्ने अगाडी सरी ।
लाग्यो लक्ष्मणलाइ भन्न अब हेर् मेरा अगाडी परी ॥
आँटिस् मर्न भन्यो र ताहिं नजिकै थीया विभीषण् पनी ।
तिन्लाई पनि खुप् भन्यो तँ कुलको शत्रू अधम् होस् भनी ॥२०३॥