Jump to content

Page:Bhanubhaktako ramayan.pdf/160

From Nepali Proofreaders
This page has not been proofread

येती बिन्ति सुनी हुकुम् हुन गयो मै जान्छु मार्छू भनी ।
फेरी बिन्ति विभीषणै सरि गर्या यस्तो छ यो विर् भनी ॥
खाँदै कत्ति न खाइ कत्ति न सुती रात् दिन् नियम् खुप् गरी ।
जस्को बर्त छ बाह्र वर्ष उ पुरुष् तेरा अगाडी सरी ॥१९२॥

तेरो प्राण लिन्याछ यो छ वरदान् यस्तो हुनाले गरी ।
मारी सक्नु कदापि छैन अहिले कोही अगाडी सरी ॥
रात् दिन् कत्ति नखाइ कत्ति न सुती तेस्तो रह्याका यहाँ ।
लक्ष्मण् छन् अब लौ हुकुम् दिनु हवस् तेस्लाइ मारुन् तहाँ ॥१९३॥

ईश्वर् तिमी ह्वौ रघुनाथ् इ भाई ।
लक्ष्मण् त शेष् हुन् करुणा जनाई ॥
भूभार हर्ना कन जन्म लीयौ ।
यो रुप् भजन् गर्न बनाइ दीयौ ॥१९४॥

साँचो बिन्ति गर्यौ म जान्दछु सबै यो विर् छ यस्तो भनी ।
हिंड्दै देखि न खाइ कत्ति न सुती लक्ष्मण् रह्याका पनी ॥
जानीजानि म चुप् रह्याँ किन भन्या लाग्न्यै छ यो काम् पनी ।
उत्तर् येति तहाँ विभीषणजिका साम्ने हुकुम् भो पनी ॥१९५॥

लक्ष्मण्लाइ पनी हुकुम् तहिं भयो भाई तयारी भया ।
केही फौज् पनि साथमा लिइ तहाँ ऐल्हे तुरुन्तै गया ॥
चाँडै प्राण् लिइ हाल इन्द्रजितको जान्छन् विभीषण् पनी ।
सब्को छिद्र बताउनन् बखतमा यस्तो छ याहाँ भनी ॥१९६॥

हूकुम् यो रघुनाथको सुनि धनू लीई तयारी भया ।
राम्का पाउ समाइ लक्ष्मण तहाँ क्ये बोल्न लागी गया ॥
मेरा बाण् अब इन्द्रजित विरका प्राण्लाइ जल्दी हरी ।
पाताल् भोगवती महाँ पुगि तहाँ निर्मल् हुनन् स्नान् गरी ॥१९७॥