भोली मर्दछ इन्द्रजित् पनि यहाँ लक्ष्मण् जिका हात् परी ।
आफैं मार्नु हुन्या छ रावण भन्या पर्सी लडाई गरी ॥
देख्न्यै छन् मुनिदेवसिद्धगणले त्यो सब् तमासा भनी ।
नारद् ताहिँ बिदा भई गइ तया त्यो ब्रह्मलोक्मा पनी ॥१८६॥
रावण्ले पनि कुम्भकर्ण त मर्यो भन्न्या सुनेथ्यो जसै ।
साह्रै दुःख परी विलाप् पनि गरी मूर्छा पर्यो खुप् तसै ॥
रावण्लाइ बुझाउन कन अघी त्यो इन्द्रजित् विर् सर्यो ।
जल्दी बिन्ति गर्यो खडै छु म छँदै कुन् ताप् हजुर्मा पर्यो ॥१८७॥
शत्रूको भय आज कत्ति न रहोस् ई शत्रु मै मारुँला ।
सब् शत्रूहरु मारि ताप् हजुरको चाँडै सहज् टारुँला ॥
होम् गर्छू म निकुम्भिला स्थल महाँ ऐल्हे तुरुन्तै गई ।
होम् सम्पूर्ण गर्या मलाइ अहिले अग्नी प्रसन्नै भई ॥१८८॥
दीन्याछन् हतियार् तिनै लिइ गई सङ्ग्राम गर्छू जसै ।
कुन् साम्ने भइ टिक्छ तेस् बखतमा सब् ध्वस्त हुन्छन् तसै ॥
येती बिन्ति गर्यो र होम् गरुँ भनी ऊठेर जल्दी गयो ।
भक्ती राखि निकुम्भिला स्थल महाँ होम् गर्न लाग्दो भयो ॥१८९॥
सून्या त्यो समचार् विभीषणजिले होम् गर्न लाग्यो भनी ।
सो विस्तार् रघुनाथका हजुरमा गै बिन्ति पार्या पनी ॥
ऐल्हे हे रघुनाथ इन्द्रजितले होम् गर्न लाग्यो भनी ।
सून्याँ यो सुनि बिन्ति गर्न अहिले आयाँ हजुर्मा पनी ॥१९०॥
होम्को विघ्न त गर्नु पर्छ अधिराज् होम् सिद्ध पार्यो भन्या ।
राक्षस्गण् जिति सक्नु छैन कहिले ई सब् अजेयै बन्या ॥
लक्ष्मण्लाइ मलाइ बक्सनु हवस् हूकुम् म जान्छू तहाँ ।
मार्छन् लक्ष्मणले अवश्य अहिले त्यो बाँच्न सक्ला कहाँ ॥१९१॥
Page:Bhanubhaktako ramayan.pdf/159
Appearance
This page has not been proofread
