गीर्यो हात् जब कुम्भकर्ण विरको मुद्गर् सहित्को तहाँ ।
ठूलो शब्द गरेर फेरि रिसले धायो प्रभू छन् जहाँ ॥
साल्को वृक्ष उखेलि हान्न भनि त्यो आयो नजिक्मा जसै ।
तेही हात् पनि काटि बक्सनु भयो वानर् भया खुस् तसै ॥१८०॥
हातै गिर्या जब दुवै तब खुप् करायो ।
साह्रै रिसाइ रघुनाथ् तिर दौडि आयो ॥
फेर् अर्धचन्द्र सरिका दुइ बाण लीया ।
गोडै पनी सहज काटि खसालि दीया ॥१८१॥
हात् पाउ केहि न हुँदा अति दुःख पायो ।
मुख् बाइ राम् कन निलूँ भनि घस्रि आयो ॥
राम्चन्द्रले पनि मुखै भरि बाण हान्या ।
त्यो देखि फौजहरुले अति हर्ष मान्या ॥१८२॥
यै रित् गरेर अघि बाट थला बसाया ।
फेर् हानि ऐन्द्रशरले त सिरै खसाया ।
ढोका थुन्यो सहरको सिरले त ताहाँ ।
गिंड् उफ्रि गै कन पर्यो र समुद्र माहाँ ॥१८३॥
ग्राहादि जन्तु मिचि नाश् बहुतै गरायो ।
इन्द्रादि देवगणका पनि ताप् हरायो ॥
खुप् पुष्पवृष्टि रघुनाथ उपर् खसाया ।
राम्लाइ भेट्न भनि नारद ताहिं आया ॥१८४॥
नारद्ले स्तुति खुप् गर्या प्रभुजिको नारायणे हुन् भनी ।
भोली देखि हुन्या कुरा जति थिया सो सब् बताया पनी ॥
हे नाथ् विर् यहि कुम्भकर्ण विर हो यो विर् सहज्मा गयो ।
खूपै विर् अब इन्द्रजित् छ उसको लौ भोलि वेला भयो ॥१८५॥
Page:Bhanubhaktako ramayan.pdf/158
Appearance
This page has not been proofread
