Jump to content

Page:Bhanubhaktako ramayan.pdf/157

From Nepali Proofreaders
This page has not been proofread

चार् मन्त्रि साथ लिइ निक्लि म याहिं आयाँ ।
श्रीरामका शरणमा परि बिन्ति लायाँ ॥
ठूलो दया गरि लिया प्रभुले मलाई ।
आज्काल् खुसी छु रघुनाथ् सित बस्न पाई ॥१७४॥

बिन्ती विभीषणजिको जब सूनि लीयो ।
भाई चिन्ही कन खुसी भइ काख लीयो ॥
भाई चिरञ्जिवि रह्या तिमि दैव जानी ।
राम्चन्द्रको गर भजन् अति हर्ष मानी ॥१७५॥

खुप् भक्त छन् बुझि लिया तिमि भाइलाई ।
भन्थ्या चिन्हेर अघि नारदले मलाई ॥
साँचै भयो ति ऋषिले जति हो भन्याको ।
प्रत्यक्ष देख्छु तिमि भक्त बडा बन्याको ॥१७६॥

भाई विभीषण परै रहु जल्दि जाऊ ।
सङ्ग्रामका बखतमा नजिकै न आऊ ॥
यस्ता वचन् सुनि बिदा भइ फर्कि आया ।
थामी न सक्नु भइ आँसु पनी खसाया ॥१७७॥

बीदा भै जब ता विभीषण फिर्या यो फौज् गिरायो भनी ।
लाग्यो घुम्न र कुम्भकर्ण विरले धेर् फौज् गिराऊँ भनी ॥
वानर्को सब फौजलाइ बलले थिच्तै र मिच्तै गयो ।
कुन् सक्थ्यो अघि टिक्न तेस् बखतमा खुप् ध्वस्त गर्दो भयो ॥१७८॥

मुद्गर् हात लियेर येहि रितले त्यो घुम्न लाग्यो जसै ।
फौज्को नाश् बहुतै गर्यो र रघुनाथ् साह्रै रिसाया तसै ॥
वायव्यास्त्र उठाइ मुद्गर समेत् हातै खसाल्छू भनी ।
हान्या श्रीरघुनाथले र सहजै काटी खसाल्या पनी ॥१७९॥