Jump to content

Page:Bhanubhaktako ramayan.pdf/156

From Nepali Proofreaders
This page has not been proofread

जो रामचन्द्र तिर रात् दिन चित्त धर्छन् ।
राम् कै चरित्र पढि खुप् सित मग्न पर्छन् ॥
तिन्का ति कर्मवशका सब पाप छुट्छन् ।
वैकण्ठका सकल सौख्य तिनै त लुट्छन् ॥१६८॥

सून्यो बिन्ति र कुम्भकर्ण विरको साह्रै रिसायो पनी ।
लाग्यो भन्न तँलाइ डाकिन यहाँ ज्ञान् सुन्न देलास् भनी ॥
जस्तो भन्छु म सोहि गर्नु छ भन्या गर् युद्ध साम्ने सरी ।
सुत्नाको मतलब् छ पो पनि भन्या जा सुत् पलङ्मा परी ॥१६९॥

रावण्का इ वचन् सुनेर अहिले साह्रै रिसाया भनी ।
क्यै उत्तर् न गरी उठी कन गयो खुप् लड्न आँट्यो पनी ॥
पर्खाल् नाघि गयो र लड्न कन सुर् बाँधी करायो जसै ।
कालै तुल्य बुझेर वानरहरू साह्रै डराया तसै ॥१७०॥

विर् विर् वानरलाइ पक्डि मुखमा हाल्दै र निल्दै गयो ।
प्वाँख् लागी कन पर्वतै उडि तहाँ आई गया झैं भयो ॥
सक्थ्यो कुन् अघि टिक्न तेस् बखतमा तेस्का अगाडी परी ।
वानर्को सब फौज् तहाँ हटि गयो साह्रै सकस्मा परी ॥१७१॥

दाज्यू भनी तहिं विभीषण भेट्न आया ।
पाऊ परी कन बहुत् गरि बिन्ति लाया ॥
कान्छो विभीषण म हूँ करुणा म पाऊँ ।
लङ्का महाँ म कन बस्न मिलेन ठाऊँ ॥१७२॥

सीता न राख घरमा तिमि सुम्पि देऊ ।
राम्चन्द्रलाइ परमेश्वर जानि लेऊ ॥
बिन्ती गर्याँ यति र लात् पनि मारि लीया ।
निक्लेर जा भनि मलाइ निकालि दीया ॥१७३॥