Jump to content

Page:Bhanubhaktako ramayan.pdf/155

From Nepali Proofreaders
This page has not been proofread

सोध्याँ आउनु भो हजुर् किन यहाँ जानू छ काहाँ भनी ।
मेरो बिन्ति सुनेर सब् ति ऋषिले विस्तार् बताया पनी ॥
विस्तार् लौ सुन कुम्भकर्ण अहिले जीतेर सब् लोक् लियो ।
इन्द्रादीहरुलाइ दुःख तिमिले अत्यन्त साह्रै दियौ ॥१६२॥

सब् इन्द्रादि ति विष्णुका हजुरमा पौंची शरण्मा पर्या ।
यस् रावण् कन मारि देउ भगवन् भन्न्या त बिन्ती गर्या ॥
ब्रह्माको वरदान् छ मर्नु तइँले मानीस देखी भनी ।
मानिस् भै कन मारि बक्सनु हवस् मन्र्या छ रावण् पनी ॥१६३॥

येती बिन्ति गरेर देवगण सब् पाऊ पर्याथ्या जसै ।
सोही रित् सित् मारुँला भनि हुकुम् श्रीविष्णुको भो तसै ॥
सोही बात् परिपूर्ण गर्न रघुनाथ् ऐल्हे तयारी भया ।
मान्र्यैछन् तिमिलाइ निश्चय भनी ऊठेर नारद् गया ॥१६४॥

तस्मात् अवश्य रघुनाथ् कन देव जानी ।
ई वैरि हुन् भनि यहाँ रति भर् न मानी ॥
यो वैरभाव तिमिले अब छोडि देऊ ।
भक्ती गरी कन भजन् गरि आज लेऊ ॥१६५॥

भक्ती मुख्य छ सर्व साधन महाँ भक्ति छ सब् ज्ञान् दिन्या ।
भक्तीले सब मुक्त हुन्छ दुनियाँ यो नित्य जानी लिन्या ॥
भक्तीहिन् भइ कर्म गर्दछ भन्या यो निष्फलै हो भनी ।
जानी श्रीरघुनाथका चराणमा भक्ती लगाऊ पनी ॥१६६॥

हज्जारन् अवतार छन् प्रभुजिका रामावतार्ले सरी ।
आर्को छैन भजन् गर्यो भनि भन्या जस्का भजन्ले गरी ॥
जाला दुःख कतै न पाइ सहजै संसारसागर् तरी ।
सोही ठाम् पुगि जान्छ पूर्ण रुपले जाहाँ रहन्छन् हरी ॥१६७॥