Jump to content

Page:Bhanubhaktako ramayan.pdf/154

From Nepali Proofreaders
This page has not been proofread

भाई मूर्ख छ कुम्भकर्ण अझ तक् यस्तो पर्यो ता पनी ।
सूतेको छ उठाइ ल्याउ अहिले चाँडो हुकुम् भो भनी ॥
हूकुम् पाइ बडा बडा विर गया ल्याऔं उठाई भनी ।
पौंची जल्दि उठाइ झट् हजुरमा ल्याई पुर्याया पनी ॥१५६॥

पाऊमा परि कुम्भकर्ण बलावान् साम्ने बसेथ्यो जसै ।
रावण्ले पनि दिन् वचन् गरि सबै विस्तार् सुनायो तसै ॥
हे भाई सुन कुम्भकर्ण अहिले आपत् मलाई पर्या ।
छोरा नाति समेत् बडा विरहरू ऐल्हे बहूतै मर्या ॥१५७॥

प्राण्को अन्त्य हुन्या बखत् भइ गयो बाँच्न्या उपायै कहू ।
राम् शत्रू बलवान् बुझिन्छ तिमि लौ साह्रै चनाखा रहू ॥
गम्भिर् येहि समुद्रमा पनि सहज् साँघू लगाई तर्या ।
वानर्का सब फौज् समेत् तरि यहाँ धेर् वीरको नाश् गर्या ॥१५८॥

वानर् देख्छु म विर् अनेक् तरहका सूरा लडाकी बडा ।
हाम्रा लस्करमा अनेक् विर मर्या वानर् सबै छन् खडा ॥
तिन्को नाश् गरि सक्नु देख्तिन यहाँ कौनै उपाई गरी ।
नाश् तिन्को तिमिले गराउ अहिले चाँडो अगाडी सरी ॥१५९॥

रावण्ले इ वचन् विलाप सरिका बोली सकेथ्यो जसै ।
हाँस्यो खुप् सित कुम्भकर्ण र तहाँ बिन्ती गर्यो साफ् तसै ॥
मैले क्या गरुँ बिन्ति आज अधिराज् पैल्हे गर्याथ्याँ पनी ।
राम् नारायण हुन् सिता प्रभुजिकी हुन् योगमाया भनी ॥१६०॥

मेरो बिन्ति सधेन उस् बखतमा झन् खुप् रिसानी भयो ।
तेसैको फल हो अवश्य अधिराज् जो मन्त्रिको ज्यान् गयो ॥
एक् दिन् पर्वतका उपर् शिखरमा थीयाँ म रात्री महाँ ।
नारद्जी कन मध्य रात्रि बिचमा देख्याँ अकस्मात् तहाँ ॥१६१॥