खूसी खुप् रघुनाथ् तहाँ हुनु भयो औषध् सुषेण्ले गर्या ।
बाधा लक्ष्मणका सबै जति थिया त्यै औषधीले हर्या ॥
रावण् माथि दगा धरेर सहजै लक्ष्मण् उठ्याथ्या जसै ।
बाँच्या भाइ दया गर्यौ र हनुमन् भन्न्या हुकुम् भो तसै ॥१५०॥
सङ्ग्राम्को मतलब् गरेर हनुमान् साम्ने हुनू भो तहाँ ।
वानर्को पनि फौज् सबै अघि सर्यो ऊ झन् रहन्थ्यो कहाँ ॥
जस्तै सर्प गिराउँछन् गरुडले सोही तमासा गरी ।
रावण्लाइ गिराइ बक्सनु हुँदा गीरेर मूर्छा परी ॥१५१॥
ऊठी दुःख बहूत पाइ मनले हारी गयाको थियो ।
श्रीराम्चन्द्रजिको प्रचण्ड बल सब् बूझी लहड् खुप् लियो ॥
बेस् सिंहासनमा बसी सकल विर् राखी सभी खुप् गरी ।
लाग्यो भन्न म मर्छु हेर विर हो राम्का अगाडी परी ॥१५२॥
राम् नारायण हुन् अवश्य बुझियो चौधै भुवन्का धनी ।
मानिस्को अवतार् लिया प्रभुजिले मार्छन् मलाई पनी ॥
मानिस् देखि त मर्न पर्छ मइले ब्रह्माजिको वर् छ यो ।
मानिस् भै रघुनाथ् सर्या अघि भन्या काल् टार्न सक्न्या छ को ॥१५३॥
राजा विर् अनरण्य सूर्यकुलमा क्वै एक् महात्मा थिया ।
मैले व्यर्थ विरोध् गर्याँ र उ बखत् तिन्ले सराप् पो दिया ॥
मेरा वंश महाँ अवश्य अवतार् नारायणैले लिनन् ।
तेरो राक्षसवंश मारि सहजै तैंलाइ मारी दिनन् ॥१५४॥
दीया येति सराप् र तेस् बखतमा राजा बिती पो गया ।
सोही पूर्ण गराउना कन यहाँ श्रीराम् तयारी भया ॥
आया श्रीरघुनाथ् मलाइ अहिले मार्नै इरादा धरी ।
मार्छन् निश्चय आज मर्छु सहजै राम्का अगाडी परी ॥१५५॥
Page:Bhanubhaktako ramayan.pdf/153
Appearance
This page has not been proofread
