स्वर्गैमा म त अप्सरा अघि थियाँ नाम् धान्यमाली थियो ।
ब्राह्मण्का त सरापले मकरिको रुप् यो बनाई दियो ॥
तेसै रुप् कन मारि बक्सनु हुँदा आपत्ति मेरी गई ।
जान्छू स्वर्ग विषे म फेरि हनुमन् जस्ता कि तस्ती भई ॥१४४॥
अर्को बिन्ति म गर्छु अर्ति सरिको त्यो हो हजुर्को खुनी ।
जस्लाई मुनि भन्नु हुन्छ हनुमन् थीयो कहाँ त्यो मुनी ॥
औषध् लीन गयेछ आज हनुमान् लौ विघ्न गर् जा भनी ।
रावण्ले उपदेश् दियो र बलवान् त्यो कालनेमी पनी ॥१४५॥
विघ्नै गर्न भनेर आइ अहिले त्यो चाल तेस्ले गर्यो ।
तेस्लाई तहिं मार औषधि पनी ली जाउ बेला पर्यो ॥
यो बिन्ती गरि इन्द्रका हजुरमा त्यो धान्यमाली गई ।
आश्रम्मा हनुमान् फिर्या उहि बखत् केही न जान्न्या भई ॥१४६॥
देख्यो श्रीहनुमानलाइ नजिकै आई पुग्याका जसै ।
मेरो काम् अब सिद्ध गर्दछु भनी त्यो बोल्न लाग्यो तसै ॥
ऐल्हे दिन्छु म सिद्ध मन्त्र हनुमन् यो मन्त्र लेऊ पनी ।
देऊ लौ गुरुदक्षिणा पनि ठुला मेरा गुरू हौ भनी ॥१४७॥
छल्छाम्का इ वचन् सुन्या र हनुमान् विर्का उठ्यो रिस् पनी ।
हान्या मुड्कि उठाइ तेहि बीचमा लौ दक्षिणा ले भनी ॥
पायो चोट् तहिं मुड्किको र मुनिवेष् तेस्को तुरुन्तै गयो ।
जस्तो राक्षसको स्वरुप् अघि थियो सोही स्वरुप्को भयो ॥१४८॥
माया राक्षसका अनेक् तरहका त्यो गर्न लाग्यो जसै ।
हान्या मुड्कि उठाइ फेरि सिरमा ताहीं मर्यो त्यो तसै ॥
येती कर्म गरेर जल्दि हनुमान् द्रोणाचलैमा गया ।
पर्वत् बोकि तुरुन्त फर्कि सहजै दाखिल् प्रभू थ्यैं भया ॥१४९॥
Page:Bhanubhaktako ramayan.pdf/152
Appearance
This page has not been proofread
