थीयो आश्रम भित्र दर्शन गरूँ भन्न्या इरादा धर्या ।
योगेश्वर् बुझि भक्ति राखि हनुमान्ज्यूले नमस्कार् गर्या ॥
दुत् हूँ श्रीरघुनाथको म हनुमान् भन्छन् मलाई पनी ।
औषध् ल्याउनको हुकुम् प्रभुजिको हूँदा म आयाँ भनी ॥१३८॥
सब् वृत्तान्त गर्या र जल् पिउनको इच्छा बहूतै थियो ।
खोज्या जल् हनुमानले र खुसि भै तेस्ले तहाँ जल् दियो ॥
आऊ फल् फुल खाउ पीउ हनुमान् ठण्डा छ यो जल् पनी ।
साह्रै हत्पत गर्नु छैन तिमिले कैल्हे म जाँला भनी ॥१३९॥
योगी हूँ सब जान्दछू म अहिले राम्ले नजर् खुप् गरी ।
लक्ष्मण्लाइ बचाइ बक्सनु भयो सम्पूर्ण बाधा हरी ॥
वानर्को पनि फौज् खडा सब भयो येती भनेथ्यो जसै ।
तिर्खा मेटिइन्या न देखि जलले बोल्या हनूमान् तसै ॥१४०॥
तिर्खा ज्यादि छ जल् कमी छ यतिले मेट्तैन तिर्खा पनी ।
धेरै जल् छ कहाँ बताउनु हवस् वाहाँ म खाँला भनी ॥
सून्यो श्रीहनुमानका र इ वचन् क्वै एक् तलाऊ थियो ।
त्यो देखाउनलाइ एक अगुवा शिष्यै पठाई दियो ॥१४१॥
ऐल्हे जाउ र जल् पियेर हनुमन् फर्केर आऊ यहाँ ।
केही मन्त्र म दिन्छु त्यो सुनि गया मिल्न्या छ औषध् तहाँ ॥
सून्या श्रीहनुमानले र इ वचन् बेस् हो हवस् लौ भनी ।
पौंच्या जल्दि तलाउमा र हनुमान् विर्ले पिया जल् पनी ॥१४२॥
ताहाँ तेहि तलाउ भित्र मकरी क्वै एक् बस्याकी थिई ।
खैंची श्रीहनुमानलाइ निलुँला भन्न्या ठुलो सुर् लिई ।
च्यापू च्याति पछारि ताहिं मकरीलाई निभाया जसै ।
स्त्रीको सुन्दर रूप् बन्यो र विनती त्यो गर्न लागी तसै ॥१४३॥
Page:Bhanubhaktako ramayan.pdf/151
Appearance
This page has not been proofread
