Jump to content

Page:Bhanubhaktako ramayan.pdf/149

From Nepali Proofreaders
This page has not been proofread

औषध् लीन गया जसै त हनुमान् चाल् पाइ रावण् पनी ।
रात्रीमा उठि कालनेमि सित गो क्यै विघ्न पारूँ भनी ॥
राजा रावणलाइ रात्रि बिचमा देख्यो अकस्मात् जसै ।
सम्मान् खुप् गरि ताहिं हाजिर रह्यो त्यो कालनेमी तसै ॥१२६॥

मैले क्या गरुँ कीन आउनु भयो यो राति एक्लै यहाँ ।
यो बिन्ती सुनि कालनेमि सित सब् विस्तार् बतायो तहाँ ॥
यस्तो भो सुन कालनेमि अहिले लक्ष्मण् गिर्याका थिया ।
तिन्लाई पनि फेर् बचाउन ठुलो राम्चन्द्रले सुर् लिया ॥१२७॥

औषध् लीन भनेर आज हनुमान् द्रोणाचलैमा गयो ।
औषध् ल्याउन विघ्न पार तिमिले लौ जाउ बेला भयो ॥
मायाले मुनि वेष् धरेर हनुमान्लाई भुलाऊ गई ।
सक्न्या छौ तिमिले भुलाउन ठुला योगी सरीका भई ॥१२८॥

यस्तो रावणले हुकुम् जब दियो लौ विघ्न गर् जा भनी ।
राम् ईश्वर् बुझि कालनेमि विरले क्यै बिन्ति पार्यो पनी ॥
येती हित् बुझि बिन्ति गर्छु अधिराज् हीतै भन्यो यो भनी ।
मेरो बिन्ती सधाइ बक्सनु हवस् होला ठुलो हित् पनी ॥१२९॥

ज्यान्को आस् पनि कत्ति छैन अधिराज् दीन्यै छु यो ज्यान् पनी ।
जीतीन्या तर छैन जान इ त हुन् चौधै भुवन्का धनी ॥
भाई बन्धु मराइ बाँचि कन पो क्या सोख् छ राजा भई ।
ईश्वर् हुन् पर रामका शरणमा ऐल्हे तुरुन्तै गई ॥१३०॥

सीता सुम्पि दि हाल राज्य पनि यो देऊ विभीषण् गरुन् ।
खूसी भै कन आज देखि रघुनाथ् तिम्रा विपत्ती हरुन् ॥
जाऊ लौ वनमा र लेउ मनमा आत्मै विचार्को मती ।
मायाले त भुलाउँछिन् जगत्मा यस्तै छ तिन्को गती ॥१३१॥