लक्ष्मण् नारायणै हुन् भनि बुझि डर भै शक्तिले छाडि दीयो ।
रावण् मूर्छा पर्याको पनि उठि उ बखत् फेर् धनुर्बाण लीयो ॥
सीतानाथ् श्रीजगन्नाथ् प्रभु पनि हनुमान् वीरका पीठ माहाँ ।
चढ्नू भो लड्न मन्सुब् गरिकन लिनु भो फेर् धनुर्बाण ताहाँ ॥१२०॥
टङ्कार् खुप् धनुको गरी हुकुम भो उम्केर जालास् कहाँ ।
तेरा बन्धु निभाइ यो रण महाँ मार्छू तँलाई यहाँ ॥
रावण्ले इ वचन् सुन्यो र बिजवाफ् भै रिस् मनैमा लियो ।
हान्यो श्रीहनुमानलाइ शरले घाऊ लगाई दियो ॥१२१॥
घाऊ श्रीहनुमानका शरिरमा देख्नू भयेथ्यो जसै ।
साह्रै रिस् उठि काल रुद्र सरिका ठाकुर् हुनू भो तसै ॥
घोडा रथ् ध्वज सूत शस्त्र धनु सब् छत्रै पताकै पनी ।
काटी रावणलाइ हान्नु पनि भो मूर्छा परोस् यो भनी ॥१२२॥
लाग्यो बाण् रघुनाथको र तहिं त्यो मूर्छा तुरुन्तै पर्यो ।
हातैमा धनु थाम्न शक्ति न हुँदा हात् देखि भैंमा झर्यो ॥
यै बिच्मा सिरको किरीट शरले काटी खसाली दिया ।
रावण्का सब सेखि सान् प्रभुजिले खैंचेर ताहीं लिया ॥१२३॥
बाधा रावणलाइ खुप् सित भयो बीदा प्रभूले पनी ।
ऐल्हे जा घरमा भनी दिनु भयो भोली लडौंला भनी ॥
सेखी सान् रति भर् तहाँ न रहँदा रावण् मर्या झैं भयो ।
लाज् मानी कन लड्न शक्ति न हुँदा फर्केर लङ्का गयो ॥१२४॥
लक्ष्मण् मूर्छित झैं भया र रघुनाथ् शोक् गर्न लाग्या हरी ।
जस्तो मानिस गर्छ सोहि रितका चेष्टा अनेकै गरी ॥
लक्ष्मण्लाइ बचाउ फेरि हनुमान् ली आउ औषध् भनी ।
हूकुम् यो रघुनाथको तहिं हुँदा दौड्या हनूमान् पनी ॥१२५॥
Page:Bhanubhaktako ramayan.pdf/148
Appearance
This page has not been proofread
