Jump to content

Page:Bhanubhaktako ramayan.pdf/147

From Nepali Proofreaders
This page has not been proofread

रावण्ले अतिकाय वीरहरुका फौज् मारियाको जसै ।
सून्यो दुःख पर्यो र पूर्ण रिसले खुप् लड्न आँट्यो तसै ॥
सुन्दर् एक् रथमा चढ्यो र हतियार् शस्त्रास्त्र सब् थोक् लिई ।
लङ्कारक्षण गर्नु इन्द्रजितले भन्न्या हुकुम् यो दिई ॥११४॥

केही फौज् पनि साथमा लिइ गयो श्रीरामजी छन् जहाँ ।
रोक्या वानरसैन्यले र रिसले मार्यो अनेक् विर् तहाँ ॥
सुग्रीवादि बडा बडा जति थिया विर् विर् तिनैले पनी ।
जीती सक्नु भयेन सब् कन जित्यो पार्यो जमिन्मा पनी ॥११५॥

देख्यो विभीषणजिलाइ गदा लियाका ।
श्रीरामका चरणमा दृढ मन् दियाका ॥
झन् मुख्य शत्रु त यहीं छ भनेर ठान्यो ।
साह्रै रिसाइ कन शक्ति उठाइ हान्यो ॥११६॥

आयो शक्ति तहाँ विभीषणजिको प्राण् खैंचन्या सुर् गरी ।
लक्ष्मण्ले तहिं झट् बचाउनु भयो आफू अगाडी सरी ॥
शक्ती लक्ष्मणलाइ बज्रन गयो लक्ष्मण्जि मूर्छा पर्या ।
मूर्छा पर्नु कहाँ थियो प्रभुजिले चेष्टा नरैको गर्या ॥११७॥

लक्ष्मण्लाइ उठाउना कन तहाँ दौडेर रावण् गयो ।
सक्थ्यो रावणले उठाउन कहाँ आश्चर्य मान्दो भयो ॥
लक्ष्मण्लाइ उठाउन्या बखतमा देख्या उठ्यो रिस् पनी ।
यै बिच्मा हनुमान् गया नजिकमा रावण् गिराऊँ भनी ॥११८॥

हान्या वज्र समानको र मुठिले बज्र्यो मुठी त्यो जसै ।
रावण् हो बलवान् तथापि रगतै छाद्दै गिर्यो पो तसै ॥
लक्ष्मण् श्रीहनुमान देखि खुसि भै साह्रै हलूका भया ।
लक्ष्मण्लाइ उठाइ जल्दि हनुमान् राम्चन्द्रजी थ्यैं गया ॥११९॥