बखति तहिं छ तेही ख्वाइ यो फौज् बचाऊ ।
यति गरि शुभ कीर्ति दस् दिशामा नचाऊ ॥
हुकुम सुनी तुरुन्तै द्रोण लीयेर आया ।
पृथिवि तल गिर्याका वीरलाई बचाया ॥१०८॥
यति गरि हनुमान्ले कीर्तिले लोक छाया ।
फिरि लगि उहि पर्वत् द्रोण राखेर आया ॥
जब त बखति पाई होस भो वानरैका ।
तब त भइ खुसालु नाच्न लाग्या सबै ता ॥१०९॥
लाग्यो वानरसैन्य गर्जन यसै बिच्मा र रावण् तहाँ ।
लाग्यो भन्न मलाइ मार्न बलवान् यो शत्रु आयो यहाँ ॥
जाऊ लौ अतिकाय विर्हरु तहाँ खुप् लड्न कम्मर् कस्या ।
मान्र्या छू तिमिलाइ निश्चय न गै याहीं घरैमा बस्या ॥११०॥
हूकुम् यो अतिकाय वीरहरुले सून्या र कम्मर् कसी ।
पौंच्या वानर सैन्य मार्न हतियार् छोड्या अगाडी बसी ॥
वानर्ले पनि वृक्ष पर्वत मुठी दाह्रा नखैले गरी ।
रावण्का बलको विनाश् गरि दिया ताहाँ अगाडी सरी ॥१११॥
मार्नू भो रघुनाथले कति तहाँ सुग्रीवजीले कती ।
अङ्गद् श्रीहनुमान लक्ष्मण इनै विर्ले गिराया कती ॥
श्रीराम्को करुणाकटाक्ष हुन गै वानर् बलीया भया ।
राक्षस्मा करुणा भयेन र तहाँ राक्षस् मरी गै गया ॥११२॥
सर्वेश्वर् सर्वरूपी प्रभु कन यसरी लड्न पो क्यान पर्थ्यो ।
वाग्बाण् एक् छोडि दीया पनि त ति रिपुको नाश् उसैले त गर्थ्यो ॥
मायाले सच्चिदात्मा नर भइ नरका शुद्ध लीलादि गर्छन् ।
जुन् लीलाले त पापी अधम पतितका पाप सन्ताप हर्छन् ॥११३॥
Page:Bhanubhaktako ramayan.pdf/146
Appearance
This page has not been proofread
