चार्ढोका तिर बाट निस्कि कन फौज् साम्ने भयेथ्यो जसै ।
वानर्ले नजिकै गई कन जगा घेरी लिया सब् तसै ॥
रावण्को सब फौज निस्कन तहाँ पायेन ठाऊँ पनी ।
गर्जन्छन् सब वीर वानरहरू राम्चन्द्र जित्छन् भनी ॥१०२॥
यस्तै रित् सित घेरि हान्न पनि सब् लाग्या ति वानर्हरू ।
राक्षस्को पनि फौज् हटेन डरले प्राण त्यज्न लाग्यो बरू ॥
सङ्ग्राम् यस् रितले जसै हुन गयो ताहाँ ति वानर् भन्या ।
श्रीराम्को करुणाकटाक्ष हुन गो अत्यन्त योद्धा बन्या ॥१०३॥
राक्षस् तर्फ भन्या घट्यो बल सबै ठूला ठुला विर् मर्या ।
मार्या वानरले ति राक्षस सबै चौथाइ बाँकी गर्या ॥
आफ्नू फौज् सब नष्ट देखि कन विर् साह्रै लडाकी सुरो ।
आयो इन्द्रजितै म लड्दछु भनी सर्वास्त्रमाको पुरो ॥१०४॥
वानर्का सब फौजलाइ हतियार् छाडेर मर्दन् गर्यो ।
श्रीराम्ले पनि ब्रह्मपाश् अति ठुलो जान्नै र मान्नै पर्यो ॥
एक् छिन् चप् रहनू भयो र रघुनाथ् फेरी तयारी भई ।
ऐले मार्दछु मेघनाद् कन भनी साम्ने उसैका गई ॥१०५॥
माग्नू भो धनु देउ लक्ष्मण भनी श्रीरामजीले जसै ।
मार्छन् की भनि मेघनाद डरले फर्केर भाग्यो तसै ॥
भाग्दामा प्रभुजी मुसुक्क मनले हाँसेर भन्छन् अनी ।
यो बच्चा पनि जोरि खोज्न म कनै चाहन्छ कच्चा भनी ॥१०६॥
पृथिवितल गिर्याका विर् बचाऊनलाई ।
हुकुम प्रभुजिको भो विर् हनूमानलाई ॥
ढिल न गर हनूमन् क्षीर सागर् छ जाऊ ।
तहिं छ अगम पर्वत् द्रोण लीयेर आऊ ॥१०७॥
Page:Bhanubhaktako ramayan.pdf/145
Appearance
This page has not been proofread
