Jump to content

Page:Bhanubhaktako ramayan.pdf/144

From Nepali Proofreaders
This page has not been proofread

रावण्की महतारिको पनि पिता हूँ हित् म भन्छू भनी ।
रावण्का नजिकै गई कन भन्यो हित् माल्यवान्ले पनी ॥
राम् नारायण हुन् सिता पनि उनै लक्ष्मी पनी ज्ञानले ।
सीता सुम्पिदि हाल राख मनमा पूजा गरी ध्यानले ॥९६॥

उल्का हुन्छ अनेक् अनेक् सहरमा उत्सव् भन्याको रती ।
काँहीं छैन बताउँ यो म महराज् याहाँ हजुर्मा कती ॥
तस्मात् बिन्ति छ यो बहुत् हजुरमा हित् जानि लीनू हवस् ।
सीतानाथ् कन ईश्वरै बुझि सिता सुम्पेर दीनू हवस् ॥९७॥

यो बिन्ती सुनि माल्यवान् सित बहुत् रावण् रिसायो तहाँ ।
लाग्यो भन्न रिसाइ आज तिमि क्या बोल्छौ बुढा भै यहाँ ॥
क्याले राम् परमेश्वरै भनि भन्यौ मानिस् त हुन् ती पनी ।
लिन्छन् वानरको सहाय कसरी जानू त ईश्वर् भनी ॥९८॥

तिम्रा बात् सुनि चित्त पोल्छ तिमि ता जाऊ घरैमा भनी ।
मन्त्रीवर्ग लगाइ साथ घरमा जल्दी पठायो पनी ॥
रावण् उच्च अटालिमा बसि कती आया बडा विर् भनी ।
हेर्दै लड्न खतम् गरी कन हुकुम् दिन्थ्यो लडुन् विर् भनी ॥९९॥

देख्नू भो रघुनाथले र तहिं बाण् छोडी दिनू भो जसै ।
तेस् बाण्ले दस छत्र दस् मुकुट सब् काटी खसाल्यो तसै ॥
आफ्ना छत्र र दस् मुकुट् जब गिर्या लाज् मानि रावण् पनी ।
ओर्ल्यो जल्दि अटालि देखि र गयो हान्नन् इ फेरी भनी ॥१००॥

दर्बार् भित्र पसी हुकुम् पनि दियो लौ लड्न जाऊ भनी ।
निस्क्या लड्न भनी प्रहस्तहरु विर् छोपेर भूमी पनी ॥
राँगा उँट् गदहा र सिंहहरुमा विर् विर् सवारी भया ।
नाना शस्त्र र अस्त्र ली कन अनेक् विर् लड्न जल्दी गया ॥१०१॥