यो बिन्ती शुकले गर्यो र सुनि खुप् रावण् रिसायो तहाँ ।
लाग्यो भन्न मलाइ पाजि शुक यो अर्ती दिन्या भो यहाँ ॥
औरै कोहि भया त निश्चय यहीं मारी दिन्या पो थियाँ ।
यस्का गुण् अघिका थिया र गुणले बाँचिस् बिदा जा दियाँ ॥९०॥
रावण्ले शुकलाइ जा भनि तहाँ बीदा जसै ता दियो ।
त्यो शुक् ब्राह्मण हो अघी पछि सराप् पर्दा तहाँ त्यो थियो ॥
राक्षस् हूनु सराप् पनी तहिं छुट्यो बीदा तुरुन्तै भयो ।
रावण् देखि बिदा भयो र पछि ता शुक् ब्राह्मणै भै गयो ॥९१॥
ब्राह्मण् हुन् घरमा थिया शुक ऋषी एक् दिन् अगस्ती गया ।
भोजन् दिन्छु अगस्तिलाइ म भनी निम्ता ति गर्दा भया ॥
स्नान्पानी गरि आउँछू तब भनी हींड्या अगस्ती जसै ।
आयो राक्षस वज्रदंष्ट्र रिसले पायो र अन्तर् तसै ॥९२॥
जस्तो रुप् छ अगस्तिको उहि स्वरुप् धार्यो र बोल्यो पनी ।
मासू खान मलाइ देउ तिमिले इच्छा छ मेरो भनी ॥
यस्तो छल् पहिले गर्यो र पछि फेर् खान्या बखत्मा पनी ।
मासू मानिसको लगी मिसि दियो ठिक् शुक् कि पत्नी बनी ॥९३॥
भाग् देख्ता ति अगस्तिका रिस उठ्यो दीया सरापै पनी ।
मासू मानिसको दिइस् तँ त भयास् राक्षस् अवश्यै भनी ॥
शुक्ले बिन्ति गर्या खबर् हुन गयो यो छल् पर्याको जसै ।
चाँडै छुट्टि हुन्या अगस्ति ऋषिले वेला बताया तसै ॥९४॥
हे शुक् राम् अवतार् हुन्या छ बस लौ रावण् कहाँ गै तहीं ।
राम्को दर्शन पाउला तहीं सराप् छुट्ला न जाऊ कहीं ॥
यस्तो अर्ति अगस्तिको सुनि उसै माफिक् गर्याका थिया ।
राम्का दर्शनले सराप् छुटि गयो फेर् वृत्ति आफ्नै लिया ॥९५॥
Page:Bhanubhaktako ramayan.pdf/143
Appearance
This page has not been proofread
