ताहीं गै कन त्यो विचित्र नगरी लङ्कै नजर् भो जसै ।
त्यो रावण् पनि कौसिमा गइ तमास् हेर्थ्यो नजर् भो तसै ॥
यै बिच्मा शुकलाइ छोडि दिनु भो दौडेर त्यो शुक् गयो ।
रावण् सीत तुरुन्त गै कन सबै विस्तार गर्दो भयो ॥८४॥
ऐल्हे हे महराज् गयाँ हजुरको हूकुम् हुनाले तहाँ ।
बाँध्या वानरले पर्याँ सकसमा आऊँ कसोरी यहाँ ॥
ऐल्हे पो रघुनाथका हुकुमले छोडी दिया जा भनी ।
बाँच्या बल्ल भनेर हर्ष सित खुप् दौडेर आयाँ पनी ॥८५॥
आयो फौज् रघुनाथको अति ठुलो याहीं समुद्रै तरी ।
जीती सक्नु कठिन् हुन्या छ बलले ऐल्हे लडाई गरी ॥
सीताजी लगि रामका शरणमा की आज पर्नू हवस् ।
लड्नै मन् छ भन्या तुरुन्त अब लौ सङ्ग्राम गर्नू हवस् ॥८६॥
राम्को एक् समचार् म भन्दछु हरिस् सीता कउन् मत् लिई ।
सङ्ग्राम् गर्न अगाडि सर् बखत भो साम्ने मुहूँडा दिई ॥
भोली ध्वस्त गराउँछू अघि खबर् दीयाँ उचित् हो भनी ।
हाँकी भन्छू तँलाइ छोडिन यसै मैले न मारी पनी ॥८७॥
रावण्लाइ सुनाउनू यति थियो हे शुक् सुनाई दियास् ।
तैं जान्छस् त पठाउँ को अरु तहाँ तैंले मनैमा लियास् ॥
यस्तो श्रीरघुनाथको हुकुम भो भन्नू समाचार् भनी ।
साँचो बिन्ति गरी सक्याँ उ समचार् मैले हजुर्मा पनी ॥८८॥
मेरो बुद्धि म बिन्ति गर्छु अहिले राम् हुन् जगत्का पती ।
जीती सक्नु कदापि छैन अरुले क्या भो हजुर्को मती ॥
सीता आज लगेर सुम्पनु हवस् राम्का चरण्मा परी ।
बाँच्न्या येति उपाय देख्छु नहिं ता आयो मरण्को घरी ॥८९॥
Page:Bhanubhaktako ramayan.pdf/142
Appearance
This page has not been proofread
