मेरै भाइ समान हौ भनि बहुत् हित् जानि अर्ती दियाँ ।
जो गर्छौ तर फर्कि जाउ म त हित् गर्दैछु गर्दै थियाँ ॥
यस्तो रावणको हुकुम् छ महराज् येति भनेथ्यो जसै ।
पक्र्या वानरले त खैंचि कन खुप् हान्या मुठीले तसै ॥६६॥
वानर्ले बहुतै फजित् जब गर्या हे राम् मर्याँ लौ भनी ।
श्रीराम्चन्द्र सुनुन् भनेर शुकले साह्रै करायो पनी ॥
दुत् हूँ मार्न उचित् त होइन प्रभो बिन्ती गरेथ्यो जसै ।
कुट्नू छैन भनी हुकुम् हुन गयो सून्या र छोड्या तसै ॥६७॥
वानर् देखि छुट्यो जसै उहि बखत् कूदेर आकाश् गयो ।
क्या उत्तर् दिनु हुन्छ पाउँ म जवाफ् जान्छू म भन्दो भयो ॥
यस्को सुग्रिवले जवाफ् तहिं दिया मित्दाज्यु होस् तापनी ।
बाली झैं गरि मारुँला अधम होस् भन्दीन दाज्यू पनी ॥६८॥
श्रीराम्चन्द्रजिकी सिता हरि कहाँ उम्केर जालास् उसै ।
यस्तै रावण थ्यैं भन्यास् भनि भन्या सुग्रीवजीले तसै ॥
यस्तो सुग्रिवले जवाफ् जब दिया राम्को हुकुम् भो तहाँ ।
पक्डुन् वानरले न छोड अहिले क्यै दिन् रहोस् यो यहाँ ॥६९॥
श्रीराम्चन्द्रजिको हुकुम् यति हुँदा त्यो शूक बन्धन् पर्यो ।
यस् भन्दा अघि आइ शार्दुल फिर्यो विस्तार् यसैले गर्यो ॥
विस्तार् शार्दुल देखि रामबलको सून्यो र रावण् पनी ।
चिन्तामा परि गै गयो अति ठुलो आयेछ लस्कर् भनी ॥७०॥
यै बिच्मा रघुनाथ् रिसाउनु भयो आयेन सागर् भनी ।
लाल् लाल् नेत्र गराइ लक्ष्मणजिका साम्ने हुकुम् भो पनी ॥
हे भाई तिमि हामिलाइ यसले सामान्य मानिस् गनी ।
भेटै आज गरेन हेर तिमिले यस्को तमासा भनी ॥७१॥
Page:Bhanubhaktako ramayan.pdf/139
Appearance
This page has not been proofread
