Jump to content

Page:Bhanubhaktako ramayan.pdf/138

From Nepali Proofreaders
This page has not been proofread

राजा भै तिमिले रहू अब उपर् लङ्कापुरीको भनी ।
श्रीराम्चन्द्रजिले विभीषण उपर् दीया अभीषेक् पनी ॥
लङ्काका अधिराज् विभीषण हुँदा सुग्रिव्हरू खुस् भया ।
ताहीं सुग्रिवजी विभीषणजिका साम्ने नजिक्मा गया ॥६०॥

खूसी भै कन अङ्कमाल् पनि गरी सुग्रीव भन्छन् तहाँ ।
सेवक् हौं सब रामका तर तिमी छौ मुख्य सब्मा यहाँ ॥
यस् रावण् कन मार्नलाइ महराज् साहाय देऊ भनी ।
सुग्रिव्ले यति बात् गर्या जब तहाँ बोल्या विभीषण् पनी ॥६१॥

हे सुग्रिव् महराज् सहाय दिनको क्या शक्ति मेरो यहाँ ।
तिन्लोक्का अधिनाथ् परात्म रघुनाथ् आफैं खडा छन् जहाँ ॥
दास् हूँ श्रीरघुनाथको म गरुँला सेवा त भर्सक् गरी ।
यस्तै बात्चित गर्दथ्या दुत तहीं आयो अगाडी सरी ॥६२॥

रावण्को शुक दूत त्यो अघि सरी सुग्रीव साम्ने भई ।
वाहीं जान त डर् भयो र डरले आकाश बिच्मा रही ॥
लाग्यो सुग्रिवलाइ भन्न महराज् सुग्रिव् खराबी भयो ।
राम् लक्ष्मण् सितको मिलाप् मसितको वैरी हुन्या मन् गयो ॥६३॥

भाई हो मितको जनाउनु असल् सम्झा तँ जा लौ भनी ।
हूकुम् रावणको भयो र अहिले याहाँ म आयाँ पनी ॥
तस्मात् रावणको हुकुम् सुन तिमी क्या काम आयौ यहाँ ।
सब् लस्कर् लिइ फर्किजाउ तिमिले फेर् राजधानी महाँ ॥६४॥

लङ्का यो जिति सक्नु छैन अहिले इन्द्रादिले ता पनी ।
वानर् पो तिमि हौ त क्या गरुँ कुरा यो स्थान् जितौला भनी ॥
सीता जो अहिले हर्याँ त मइले श्रीरामकी पो हर्याँ ।
भाई हौ मितका विरोध् न गर यो तिम्रो विराम् क्या गर्याँ ॥६५॥