यस्तो रावणले गर्यो र रघुनाथ् आयाँ हजुर्मा म ता ।
संसार् पार् सहजै उतार्छ जसले सो छोडि जानू कता ॥
यस्तो बिन्ति सुन्या विभीषणजिको सुग्रीवजीले जसै ।
रावण् कै छल झैं बुझ्या र झट्पट् बिन्ती गर्या यो तसै ॥४८॥
विश्वास् न मान्नु रघुनाथ् इ त दुष्ट पो हुन् ।
गर्नन् इ औसर पर्या हुँदि जीयमा खुन् ॥
मर्जी हवस् इ सब पक्डि निभाइ हालुम् ।
भाई म हूँ पनि भन्यो उ छँदै छ मालुम् ॥४९॥
विश्वास् कत्ति न मानि बक्सनु हवस् सब् दुष्ट पो हुन् इ ता ।
रावण् कै यदि भाइ हो त किन ढिल् मारौं न भन्छू म ता ॥
जैले पर्दछ छिद्र उस् बखतमा मार्नन् इ दागा गरी ।
मार्नालाइ हुकुम् हवस् सहजमा मारिन्छ येसै घरी ॥५०॥
मेरो मत् विनती गर्याँ हजुरको क्या मत् छ ख्वामित् भनी ।
सुग्रिव्को विनती सुनेर रघुनाथ् हाँसेर बोल्या पनी ॥
हे सुग्रीव सखे म आँटु त सबै लोक् ध्वस्त ऐल्हे गरी ।
फेर् सृष्टी क्षणमा गरूँ सहजमा लाग्वैन एक् काल् घरी ॥५१॥
तस्मात् भक्त बुझेर निर्भय दियाँ आउन् ति ल्याऊ यहाँ ।
उस् माथी पनि शत्रुदल् यदि भया मार्थ्या म छोड्थ्याँ कहाँ ॥
शत्रूका इ त ओरि हुन् तर पनी आया शरण्मा यहाँ ।
मेरा आज शरण् पर्या पनि भन्या तिन्लाइ छोड्छू कहाँ ॥५२॥
एकै बखत् पनि शरण् भनि जो मलाई ।
संझेर पर्दछ शरण् त म तेसलाई ॥
लिन्छू शरण् यदि उ शत्रु हवस् दयैले ।
मेरो व्रतै छ यहि छोड्छु कसोरि ऐले ॥५३॥
Page:Bhanubhaktako ramayan.pdf/136
Appearance
This page has not been proofread
