Jump to content

Page:Bhanubhaktako ramayan.pdf/135

From Nepali Proofreaders
This page has not been proofread

मेरा आज नजीकमा रहनको लायेक् तँ छैनस् भनी ।
धिक्कार् हो तँ अधम् भइस् भनि बहुत् धिक्कार दीयो पनी ॥
धिक्कार्को यति बात् सुन्या र झटपट् श्रीराममा मन् दिई ।
आकाश्मा झटपट् कुदी कन गया चार् मन्त्रि साथ्मा लिई ॥४२॥

लाग्या रावणलाइ भन्न महराज् हीतै भन्याँ ता पनी ।
धिक्कार् पो तिमिले गर्यौ न बुझि झन् शत्रू त हो यो भनी ॥
दाज्यू हौ पितुतुल्य छौ यति सही ऐल्हे फरक् लौ भयाँ ।
खूसी भै तिमि राज् गर्या म त उनै राम्का शरण्मा गयाँ ॥४३॥

काली हुन् जगदम्बिका भगवती सीताजि राम् काल हुन् ।
भूभार् हर्न निमित्त यो छ अवतार् बाँच्न्या छ पापी कउन् ॥
श्रीराम्को मतलब् छ मार्न तब पो फिर्दैन तिम्रो मती ।
काल् रुप् श्रीरघुनाथको अरु यहाँ को बुझ्न सक्छन् गती ॥४४॥

सब् राक्षस्कुलको हुन्या छ अब नाश् छोड्छन् प्रभूले कहाँ ।
तिम्रो नाश् कसरी म देखुँ म त लौ जान्छू प्रभू छन् जहाँ ॥
खूसी भै चिरकाल तक् गर यहाँ राज् खुप् चिरायू भया ।
येती बिन्ति गरी विभीषण सबै छा़डेर राम् थ्यैं गया ॥४५॥

चार् मन्त्री सँग ली विभीषण गया श्रीरामका पासमा ।
वाहाँ जान डराइ सम्मुख भया टाढै ति आकाशमा ॥
हे नाथ् आज शरण् पर्याँ चरणमा आयाँ म सेवक् भनी ।
उच्चा शब्द गरी गर्या विनति खुप् वृत्तान्त आफ्नू पनी ॥४६॥

हे राम् रावण कुम्भकर्ण विरको भाई विभीषण् म हूँ ।
रावण् आज अधम् भयो हजुरमा विस्तार् कहाँ तक् कहूँ ॥
सीता क्यान हर्यौ फिराउ भनि खुप् हीतै भन्या ता पनी ।
झन् धिक्कार् गरि खड्ग ली कन उठ्यो काट्छू तँलाई भनी ॥४७॥