Jump to content

Page:Bhanubhaktako ramayan.pdf/134

From Nepali Proofreaders
This page has not been proofread

श्रीरामजी सित विरोध् किन हो गर्याको ।
सीताजिलाइ तिमिले किन हो हर्याको ॥
श्रीरामचन्द्र कन सक्तछ जित्न कस्ले ।
मार्या खर त्रिशिर दूषण वीर जस्ले ॥३६॥

ठूला भन्नु इ कुम्भकर्ण विर हुन् क्या चल्छ इन्को पनी ।
सेखी गर्दछ इन्द्रजित् न बुझि यो राम्लाइ मार्छू भनी ॥
सेखी गर्नु जती छ सब् यहिं गरुन् को टिक्छ साम्ने परी ।
सब् राक्षस्हरु नाश् हुनन् जब तहाँ चेत्नन् चुक्याको घरी ॥३७॥

सीताजी ग्रह तुल्य भै कन सबै खाग् गर्न आँटिन् यहाँ ।
यो प्राणान्त बखत् भयो अझ पनी चेत् छैन चेत् गो कहाँ ॥
बाँच्नाको यदि मन् छ पो त महराज् श्रीरामजी थ्यैं गई ।
सीता सुम्पि दिनू यही बखतमा सोझो र साम्ने भई ॥३८॥

श्रीराम्चन्द्रजि फौज् लिई कन यहाँ आई न लड्दै गया ।
आयो आज शरण् पर्यो भनि बहुत् गर्नन् प्रभूले दया ॥
चाँडै आज सिताजि सुम्पनु हवस् सीताजि लङ्का रही ।
बाँची सक्नु कदापि छैन अरु थ्यैं काहीं शरण्मा गई ॥३९॥

हित् अम्रित् सरिको विभीषणजिको सून्यो वचन् यो जसै ।
लिन्थ्यो त्यो इ कुरा कहाँ अधिक झन् रावण् रिसायो तसै ॥
लाग्यो भन्न रिसाइ आज सुन यो शत्रू सरीको भयो ।
मेरा शत्रु ति रामचन्द्र सित खुप् प्रित् बस्न यस्को गयो ॥४०॥

आफ्नू ज्ञाति बढ्यो भन्या अरु सबै ज्ञाती गिरोस् यो भनी ।
भन्छन् निश्चय भन्दथ्या उहि छटा यस्ले जनायो पनी ॥
ऐल्हे मारि दिन्या थियाँ अरु भया भाई भयो क्या गरू ।
राक्षस्का कुलमा अधम् यहि भयो धिक्कार दिन्छू बरू ॥४१॥