साहेप् शोक् रति भर् कदापि न हवस् जाउन् हनुमान् भनी ।
अङ्गद्लाइ बुझाइ झट्ट हनुमान्जीका नजिक्मा पनी ॥
पौंची बेस् स्तुति गर्दछन् किन यहाँ चुप्चाप् भई दुर् रह्यौ ।
राम्का काम निमित्त मात्र हनुमन् यो जन्म लींदा भयौ ॥१३८॥
क्या वर्णन् बलको गरौं जब तिमी जन्म्यौ उसै फल् भनी ।
पाक्याको फल ठानि सूर्य कन ता हात्ले म टिप्छू भनी ॥
आकाश्मा जब ता कुद्यौ दुइ हजार् कोस् तक् पुगी फेर् झर्यौ ।
यस्ता बालकमै थियौ किन यहाँ कोस् चार् सयैमा डर्यौ ॥१३९॥
सून्या सब् हनुमानले स्तुति तहाँ जो जाम्बवान्ले गर्या ।
साह्रै खुस् हनुमान् भया र खुसिले खुप् गर्जना पो गर्या ॥
पर्वत्तुल्य बडो स्वरूप् धरि वचन् बोल्या म सागर् तरी ।
लङ्का भस्म गराइ रावण समेत् सब् सैन्य चूर्णै गरी ॥१४०॥
सीता ली कन आउँछू कि रिसले झुण्ड्यायि रावण् पनी ।
ज्यूँदै दाखिल गर्छु राम्चरणमा खूनी हजुर्को भनी ॥
की ता छन् ति सिता यहाँ भनि खबर् मात्रै सिताको लिई ।
फिर्छू श्रीरघुनाथका चरणमा तन् मन् वचन् सब् दिई ॥१४१॥
श्रीराम्का चरणाविन्द मनमा धर्दा र उठ्दा जसै ।
बोल्या श्री हनुमानले यति कुरा श्री जाम्बवान्ले तसै ॥
भन्छन् श्री हनुमानलाइ हनुमन् भेट् मात्र ऐल्है गरी ।
फर्की आउ सिताजिको खबर ली एक्लै न लड्न्या गरी ॥१४२॥
ख्वामित्का सँग लागि गै कन पछी सक्भर् लडौला भनी ।
भन्दा खूसि भई बिदा भइ लिया झट् कुद्न मन्सुब् पनी ॥
लाल् मुख् पीत शरीर् गरी गिरि उपर् जल्दी हनूमान् गया ।
सब् प्राणीहरुले तहाँ ति हनुमान्जीलाइ हेर्दा भया ॥१४३॥
इति श्रीकिष्किन्धाकाण्ड ।
Page:Bhanubhaktako ramayan.pdf/101
Appearance
This page has not been proofread
