Jump to content

Page:Bhanubhaktako ramayan.pdf/100

From Nepali Proofreaders
This page has not been proofread

सम्पाती र जटायु भाइ दुइ हूँ हाम्रो कती बल् भनी ।
बल् जान्ना कन दूइ भाइ उडि गै श्रीसूर्यबिम्बै मनी ॥
पुग्दामा ति जटायुले त अपि ताप् मान्या र छोप्याँ जसै ।
बाँच्या भाइ जटायु क्यारुँ म गिर्याँ मेरा डढ्या प्वाँख् तसै ॥१३२॥

उच्चा देखि गिर्याँ म विन्ध्यगिरिमा तिन् दिन् त मूर्छा भयाँ ।
ब्यूत्याँथ्याँ जब चन्द्रमा मुनि मिल्या तिन्का नजिक्मा गयाँ ॥
सोध्या ती ऋषिले र सब् जब भन्याँ आफ्ना विपत्को गती ।
मेरो चित् बुझाउना कन भन्या सब् दुःख हुन्छन् जती ॥१३३॥

यस्तो हुन्छ विपत्ति गर्भ रहँदा यो हुन्छ यौवन् महाँ ।
यस्तो हुन्छ बुढो हुँदा त भनु क्या थाहै छ सब् मन् महाँ ॥
जाहाँ देह बन्यो र दुःख छ भनी पर्दैन भन्नू पनी ।
जाहाँ देह छ ताहिं दुःख छ चिह्न्या साँचो कुरा हो भनी ॥१३४॥

तस्मात् दुःख न मान देह छ त रोग् दुःखै छ दुःखै सही ।
श्रीराम्को अवतार् हुन्या बखत तक् यस्सै जगामा रही ॥
केही काल बिताउ राम अवतार् होला र सीता पनी ।
हर्ला रावणले र तेस् बखतमा सीताजि खोज्नै भनी ॥१३५॥

विर् बानर्हरु आउनन् ति सँग् भेट् होला उ वेला महाँ ।
सीताको समचार् जसै त कहुला प्वाँख् उम्रनन् फेर् तहाँ ॥
भन्थ्या सोहि कुरा सबै पुगि गया हेर् प्वाँख उम्‌र्या भनी ।
प्वाँख् देखाइ बिदा भई उडि गया जाऊ तिमी लौ भनी ॥१३६॥

अङ्गद् वीर्हरू खुस् भया अब मिलिन् सीता भनी सब् जसै ।
लाग्या गम्न समुद्रलाइ र गमन् गर्नै न सक्नू कसै ॥
फेरी ताप् मनमा पर्यो र अति शोक् अङ्गद्जि गर्दा भया ।
अङ्गद्लाइ बुझाउना कन अघी श्रीजाम्बवान्जी सर्या ॥१३७॥